बुटवल– नवलपरासीका नेत्रविक्रम चन्द समूहका सदस्य मोहन सापकोटा पक्राउ परेका छन्। आज इलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको टोलीले पश्चिम नवलपरासी जिल्लाको बर्दघाट नगरपालिका–४ निवासी २६ वर्षीय सापकोटालाई पक्राउ गरेको हो।
विसं २०७५ फागुन ३० गते चन्द समूहले गरेको नेपाल बन्दको पूर्वसन्ध्यामा फागुन २९ गते राति पश्चिम नवलपरासीको सरावल–१ तुल्सीनगरस्थित पूर्व–पश्चिम राजमार्गमा दुईवटा ट्रकमा आगो लगाई सङ्गठित अपराध गरेको सापकोटामाथि आरोप लागेको थियो।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाको अनुसार २०७६ साउन १६ गते बर्दघाट–१३ धनेवास्थित एनसेल टावरमा बम विस्फोटमा संलग्न रहेको मुद्दामा सापकोटा फरार अभियुक्त हुन्। उनीमाथि थप अुनसन्धान गरिरहेको प्रहरीले जनाएको छ।