काठमाडौं – प्रायः नेपाली चलचित्र शुक्रवार रिलिज हुने गर्दछ। आज (शुक्रबार) कुनै पनि नयाँ नेपाली चलचित्र हलमा लागेनन्। हुनत, विगत एक महिनादेखि कुनै पनि नेपाली चलचित्र हलमा छैनन्।
मङ्सिरको अन्तिम साता रिलिज भएको नेपाली चलचित्र ‘प्रेम संसार’ पछि हलमा नेपाली चलचित्र नै छैनन्। एक महिनादेखि नेपाली हलमा हिन्दी र अंग्रेजी चलचित्रको दबदबा छ। आजदेखि पनि २ नयाँ हिन्दी चलचित्र हलमा लागेका छन्। यो सिलसिला अझै केही समय कायम रहनेछ।
हुनत, आउँदो शुक्रबार नेपाली चलचित्र ‘१२ सत्ताइस’ रिलिज हुँदैछ। नेपाली चलचित्रका निर्माताहरु जाडो मौसममा चलचित्र रिलिज गर्न खासै रुचाउँदैनन्। यसैले, पनि पौष महिनामा चलचित्र रिलिज नभएको हुनसक्छ। तर, यो बर्ष चलचित्र निर्माणमा समेत गिरावट आएकाले पनि पौष महिनामा चलचित्रको अभाव देखिएको हो।
माघको १७ गते रिलिज हुन लागेको ‘कर्मा’ र २४ गते रिलिज हुन लागेको ‘साङ्लो र सेल्फी किङ्ग’ पछि नेपाली चलचित्रले बजार तताउने अपेक्षा गर्न सकिन्छ। एक महिनादेखि हलमा नेपाली चलचित्र छैनन् भने करिब २ महिनादेखि नेपाली चलचित्रका लागि हलमा दर्शक छैनन्।