काठमाडौं– पूर्वपरराष्ट्र मन्त्री एवं नेपाली कांग्रेस नेतृ सुजाता कोइरालाले भारतीय अतिक्रमणमा परेको कालापानीलगायत भूमि लिजमा दिन सकिने बताएकी छन्।नेपाल सरकारसँग उक्त क्षेत्रमा पूर्वाधार विकास गर्नका लागि आर्थिक स्रोत नभएको भन्दै उक्त भूमि भारत–चीनलाई लिजमा दिएर आम्दानी गर्न सकिने उनले जनाएकी हुन्।
प्राइम टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा ऋषि धमलासँग कुराकानी गर्दै नेतृ कोइरालाले चीन, अमेरिकालगायत विभिन्न मुलुकले आफ्नो भूमि लिजमा लिने गरेको उदाहरण दिँदै उक्त विकल्पबारे सोच्न सरकारलाई सुझाव दिएकी हुन्। ‘चाइना र इन्डियाले त्यहाँ (कालापानी क्षेत्र) बाट व्यापार गर्ने हो भने राम्रो कुरा हो,’ टेलिभिजन अन्तवार्तामा उनले भनेकी छन, ‘हामीले त बाटो बनाउन सक्दैनौं, हामी त्यहाँसम्म पुग्न पनि सक्दैनौ, धेरै अप्ठयारो छ, हामी नेपालीसँग पैसा पनि छैन।’
नेतृ कोइरालाले अन्तर्वार्तामा भनेकी छन्, ‘उनी (भारत–चीन) हरूले नेपाललाई पनि ‘इन्क्लुड’ गराउनुर्पयो त्यो व्यापारमा, नेपाललाई कर पनि तिर्नुपर्यो– हाम्रो ल्यान्ड युज गरेकोमा। केही सहमति गर्न सकिन्छ, नगर्न सकिने हैन?’
‘ यसका लागि के गर्न सकिन्छ?’ भन्ने प्रश्नमा उनले भनेकी छन्, ‘धेरै कुरा गर्न सकिन्छ, अरु मुलुकमा। चीनले पनि कतिपय आइल्यान्ड लिजमा लिएको छ। अमेरिकाले पनि लिजमा लिएको हुन्छ, पैसा तिरेको हुन्छ। यसबाट ‘सोर्स अफ इनकम’ पनि हुन्छ, त्यो मुलुकमा। त्यो पनि एउटा सम्भावना छ–यसबारे छलफल त हुनुपर्याे नि!’उसो भए, कालापानीबाट भारतीय सुरक्षा फौज फिर्ता पठाउन सकिन्छ?’
‘वार्ता नगरिकन म भन्न सक्दिनँ, फिर्ता गराउने प्रयास गरौं, नत्र अरु विकल्प पनि छन्,’ कोइरालाले जवाफ दिएकी छन्।धेरै विकल्पहरू भए पनि जग्गा लिजमा दिनु उपयुक्त हुने उनको सुझाव छ। ‘त्यो ल्यान्डे हामी युज गर्न सक्दैनौ, त्यसलाई ‘डिभलप’ पनि गर्न सक्देनौ, त्यो लिजबाट हामीले भन्नु न सर्टअन एमाउन्ट उनीहरूसित वर्षको पनि लिन सक्छौं। त्यो रिसोर्स पनि हुन्छ, सोर्स पनि हुन्छ। थप ‘इनकम’ पनि हुन्छ नेपालका लागि।’
उनले कालापानीलगायतका भूमि लिजमा दिनुपर्नेसहित अर्को वैकल्पिक प्रस्ताव पनि गरेकी छन्। उनले कालापानीसँग अन्य भूमि साटफेर गर्न सकिने तर्क पनि गरेकी छन्। ‘साटफेरबाट अर्को जमिन लिन सक्छौं, समुद्र नजिकको ‘ल्यान्ड’ माग्न सक्छौं।’
लिज तथा भूमि साटफेरबारे आफ्नो सुझावलाई ‘सानो बुद्धि’ को कुरा हो भन्न पनि उनले छुटाएकी छैनन्। अन्तर्वार्तामा उनले भनेकी छन्, ‘आफ्नो सानो बुद्धिले सोचेको कुरा हो, अरुको कन्ट्रीको हेरेर भनेको हो।’
त्यसो त अन्तर्वार्तामा नेतृ कोइराला भारतले कालापानीलाई आफ्नो भूमि किन भनेको हो? त्यो बुझ्न नसकेको स्वीकार गर्छिन्। ‘भारतले किन कालापानीलगायतलाई आफ्नो भन्यो, यो बुझ्नसक्या छैन, सरकारले त्यसबारे प्रश्न गरिरहेको छ, भनिरहेको छ,’ उनी भन्छिन्।
कालापानीका विषयमा पुत्ला जलाएर केही नहुने उनको तर्क छ। उनी भन्छिन, ‘पुत्ला जलाएर केही पाइन्नँ, सिरियस्ली वार्ता गर्नुपर्दथ्यो, त्यो वार्ताको पहल कांग्रेसले गर्नुपर्दथ्यो।’
कालपानी लिम्पियाधुरालगायतका भूमि फर्काउनका लागि चीन र भारतसँग युद्ध गर्न नसकिने जनाउँदै प्रश्न गर्छिन, ‘इन्डिया र चीनसँग ‘वार’ गर्न सक्छौं? सक्दैनौं नि।’
भारतले बंगलादेशको सीमा समस्या ‘विन–विन’को अवस्थामा समाधान गरेको उल्लेख गर्दै उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि नेपालको हकमा पनि त्यही गर्नुपर्ने सुझाव दिएकी छन्। उनी भन्छिन्, ‘जसरी भारतले बंगलादेशलाई सीमा समस्या समाधान र्गयो, हामी पनि ‘विन–विनड गर्न सक्छौं।’ सीमा समस्याबारे वार्ता र सहमतिको आधारमा गर्नुपर्नेमा भने उनी दृढ देखिएकी छन्।