काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले अत्यावस्यक बाहेक अन्य विद्युतिय उपकरण प्रयाेग नगर्न आग्रह गरेकाे छ। चिसाे बढेसँगै विद्युत खपतमा वृद्धि भएकाे र चाहिने जति विद्यूत आपूर्ति नभएपछि विमानस्थल कार्यालयले यस्तो सुचना जारी गरेकाे हाे।
शुक्रबार विमानस्थल कार्यालयले जारी गरेको सूचना अनुसार चिसो मौसमका कारण त्रिभुवन विमानस्थलमा विद्युतको माग बढीरहेको छ। त्यसले विमानस्थलको सञ्चालनमा प्रयोग हुने कम्युनिकेशन, नेभिगेसन र सर्भिलेन्सलगायतका उपकरणमा प्रत्यक्ष रुपमा प्रभाव परेको छ।
सोही कारण विमानस्थल कार्यालयमा अत्यावश्यक विद्युतीय उपकरणबाहेक हिटर, एयरकन्डिसनिङजस्ता बढी विद्युत खपत गर्ने उपकरणको अनावश्यक प्रयोग नगर्न सूचित गरिएको छ। विमानस्थलभित्रका सुरक्षा निकाय, त्रिवि अध्यागमन कार्यालय, भन्सार कार्यालय, वायुसेवा कम्पनी, विभिन्न पसललगायत सरोकारवालालाई यस्तो सूचना जारी गरिएको हो।