काठमाडौं – नेपाल विद्युत् प्राधिकरणले बिजुली उत्पादन पर्याप्त हुँदै गएकोले अब विद्युत् बचत होइन खपत बढाउनुपर्ने बताउँदै आएको छ। केही दिनअघि विद्युत् प्राधिकरणका महानिर्देशक कुलमान घिसिङले एक सार्वजनिक कार्यक्रममा मुलुक विद्युत्मा आत्मनिर्भरताको बाटोमा गइसकेको भन्दै आउँदो बर्खामा बिजुली निर्यात गर्न सकिने भन्दै आन्तरिक खपत पनि बढाउनुपर्नेमा जोड दिएका थिए। विद्युत् खपत बढाउँदा ग्यास र पेट्रोलको उपभोग कम भई व्यापार घाटा कम गर्नसमेत सहयोग पुग्ने उनको तर्क छ।
प्राधिकरणले गएको दसैं–तिहारभन्दा पनि अहिले बिजुली खपत बढेको र साबिकका उपकरणले धान्नै नसक्ने स्थिति आएको कारण पछिल्ला दिनका बिजुली जाने समस्या आएको दाबी समेत गरेको छ। तर भान्सामा बिजुली प्रयोग दर बढाउने इन्डक्सन चुलोेको प्रयोग सोचेजस्तो बढेको छैन।
तत्कालीन नेसनल टे«डिङ लिमिटेडले २०७२ को अघोषित भारतीय नाकाबन्दीको बेला चीनको सहयोगमा प्राप्त ११ हजार तीन सय थान इन्डक्सन चुलो भित्र्याए पनि बिकेको छैन। सुरुमा १२ हजार मूल्य तोकिएको चुलोको मूल्य लामो समयसम्म बिक्री नभएपछि उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण समितिको निर्देशनमा चार हजार कायम गरिएको छ। तैपनि बिक्री सोचेजस्तो नरहेको सम्बद्ध अधिकारी बताउँछन्।
मूल्य घटाएसँगै केही बिक्री बढे पनि अझै सात हजार थान हाराहारी इन्डक्सन चुलो नेसनल ट्रेडिङ गाभिएर बनेको खाद्य व्यापार तथा कम्पनी लिमिटेडमा छ। खाद्यका बिक्री प्रमुख लालमोहन ठाकुर विद्युत् प्राधिकरणको बिजुली खपत बढाउने अभियानसँगै सामान्य बिक्री सुरु भए पनि तुलनात्मक रूपमा कम भएको बताउँछन्। ‘पछिल्लो समयमा हामीले खाद्यान्न तथा चुलोको मोबाइल बिक्री अभियान समेत चलाएका छौं, त्यसले सामान्य बिक्री बढाएका छौं। तर पनि जति हुनुपर्ने हो त्यति बिक्री छैन,’ ठाकुरले भने, ‘एलपी ग्यासको तुलनामा धेरै कम इन्धन खपत हुने भए पनि यसको महत्त्व उपभोक्ताले बुझ्न नसक्दा आकर्षण कम छ।’ उनी खाद्यले बिक्री वितरण गर्दै आएको चुलो बजारमा दोब्बरभन्दा पनि महँगो पर्ने बताउँछन्। खाद्यले यसको बिक्री बढ्ने अनुमानका साथ थप इन्डक्सन चुलो खरिदको लागि छलफल गरिरहेको ठाकुरको भनाइ छ।
उनले भने, ‘खाद्यले चुलो बिक्री प्रवद्र्धन कार्यक्रमसँगै आवश्यकताका आधारमा थप खरिदको योजना समेत बनाइरहेको छ। तर यसलाई मौज्दातका रहेको चुलोको बिक्रीले थप निर्णय गर्न सहयोग गर्छ।’ खाद्यमा मात्र होइन, निजी क्षेत्रका व्यवसायीले यसको बिक्रीको अवस्था कम रहेको बताउँछन्। विद्युतीय व्यवसायी महासंघका महासचिव कोमल पोख्रेल बजारमा इन्डक्सन चुलोको माग अघोषित नाकाबन्दीको समयमा अत्यधिक भए पनि अहिले नगन्य रहेको बताउँछन्।
‘नाकाबन्दीको समयमा विद्युतीय सामग्री व्यवसायीले यसको व्यापार राम्रै गरे तर ग्यास आयात बढेपछि यसको माग घट्यो,’ उनले भने, ‘अहिले अगाडिकै मौज्दात सामग्री बेच्दै आएका छन्।’
उनले विद्युतीय सामग्रीसँगै हार्डवेयर पसलले समेत इन्डक्सन चुलो बेच्दै आएकामा उनीहरूको समेत बिक्रीको अवस्था उस्तै रहेको दाबी गरे। ‘सरकारले बिजुली खपत बढाऊ र एलपी ग्यासको तुलनामा यसको लागत कम पर्ने भन्दा भन्दै पनि यसको माग बढ्न सकेको छैन,’ पोख्रेलले भने, ‘उपभोक्तालाई यसको महत्व बुझाउने खालको सचेतना अभियान आवश्यक छ।’
महासचिव पोख्रेलले भान्सामा बिजुली प्रयोग बढाऊ भन्ने तर विद्युतीय सामानको आयातमा कर बढाउँदै जाँदा उपभोक्ता आकर्षित नभएको बताए। ‘यस्ता सामानको आयातमा भन्सार शुल्क न्यूनीकरण र अनुदान समेतको व्यवस्था गर्न जरुरी छ,’ उनले भने, ‘बिजुली महसुल घटाएर समेत उपभोक्तालाई आकर्षित गर्न सकिन्छ।’ भान्सामा विद्युतीय उपकरणको प्रयोग बढाउँदा आयात घटाउन समेत सहयोग पुग्ने उनको तर्क छ।
सरकारले इन्डक्सन चुलोको प्रयोग बढाउने उद्देश्यले गुणस्तर निर्धारण समेत गरेको छ। तर यसको आन्तरिक उत्पादन, बजार र प्रयोगको अवस्था अझै कमजोर रहेको देखिन्छ। भन्सार विभागको तथ्यांक अनुसार इन्डक्सन उपकरणको आयात गत वर्ष पाँच सय ९७ थान रहेकोमा यस वर्षको सुरुको पाँच महिनामा एक सय ४४ थान मात्र छ।