एजेन्सी– अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले पुएर्तो रिकोमा संकटकालको घोषणा गरेका छन्।
अमेरिकी टापु यस क्षेत्रमा बुधबार शक्तिशाली भूकम्प आएकाले राष्ट्रपति ट्रम्पले संकटकाल घोषणा गरेको आदेश जारी गरेका हुन्। उनले भूकम्प प्रभावितका लागि आवश्यक सम्पूर्ण सहयोग तथा उद्धारका कार्य गर्ने निर्देशन समेत आदेशमा उल्लेख गरेका छन्।
राष्ट्रपति कार्यालयका अनुसार भूकम्प प्रभावित स्थलमा सबै प्रकारका राहत, उद्धार तथा व्यवस्थापनलगायतका कार्य गर्ने संयोजनकारी भूमिका निर्वाह गर्ने अधिकार वासस्थान सुरक्षा तथा संघीय आपत् व्यवस्थापन निकायलाई दिइएको छ।
गत मंगलबार त्यस क्षेत्रमा ६.४ म्याग्निच्युडको भूकम्प आएको एक दिनपछि राष्ट्रपति ट्रम्पले यस्तो आदेश जारी गरेका हुन्। पछिल्लो विवरणअनुसार भूकम्पका कारण अहिलेसम्म एकजनाको मृत्यु भएको छ भने नौजना घाइते भएका छन्। भूकम्पका कारण त्यस क्षेत्रका कैयौं भवन क्षतिग्रस्त भएका थिए भने विद्युत् सेवा अवरुद्ध भएको थियो।
पछिल्ला केही सातामा त्यस क्षेत्रमा हजारौं कम्पन अधिकांश आमनागरिकले महसुस गरेको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ। अहिले ठूलो भूकम्प गएको पुएर्तो रिकोमा ३४ लाख जनसंख्या रहेको छ भने सो स्थान मियामी, फ्लोरिडादेखि १६ सय किलोमिटर टाढा पर्छ। रासस