काठमाडौं – नेपाली चलचित्र अहिले सिरिजको पछाडि दौडिरहेको छ। गोपीकृष्ण मुभिजले चलचित्र ‘पर्खी बसे’ को सिरिज ‘पर्खी बसे–२’ बनाउने भएको छ। नायक राजवल्लभ कोइराला र नायिका यूना उप्रेतीको डेब्यू चलचित्र ‘पर्खी बसे’ बक्स अफिसमा हिट भएको थियो। अब, यो चलचित्रको सिरिज निर्माण गर्ने निर्णय गोपिकृष्णले गरेको हो।
हिमालयन मुभी स्टूडियोसँग सहकार्य गर्दै यो चलचित्र गोपिकृष्णले बनाउन लागेको हो। गोपीकृष्ण मुभिजको तर्फबाट निकिता पौडेल र हिमालयन मुभी स्टूडियोको तर्फबाट विनोद सापकोटा विच बिहिबार सम्झौता भएको छ। प्रदिप दाहाल र तिर्थ पौडेल यो चलचित्रका सह–निर्माता हुन्। ‘पर्खी बसे’ निर्माण भएको करिब १३ बर्षपछि यो चलचित्रको सिरिज बन्ने भएको हो।
यो चलिचत्रलाई सौरभ चौधरीले निर्देशन गर्दैछन्। चलचित्रमा कथा पनि उनकै रहनेछ। सांगीतिक प्रेमकथामा यो चलचित्र बन्नेछ। चलचित्रको नेपालभरको वितरण रीच इन्टरटेन्मेन्टले गर्नेछ। गोपीकृष्णको नयाँ चलचित्र ‘माइकल अधिकारी’ को छायाँङ्कन माघबाट शुरु हुँदैछ। यसपछि, चलचित्र ‘पर्खी बसे’ को छायाँङ्कन शुरु गरिनेछ। चलचित्रका निर्देशक सौरभ चौधरीले यो नामको ब्रान्डलाई कमजोर हुन नदिने बताए।