एजेन्सी– अष्ट्रेलियामा जारी बिग ब्यास लिगमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्ध मेलबर्न स्टार्सले सातौं जित निकालेको छ। शुक्रबार भएको आफ्नो आठौं खेलमा स्टार्सले मेलबर्न रेनेगेड्सलाई ७ विकेटले हराएको हो।
रेनेगेड्सले दिएको १ सय ६९ रनको विजयी लक्ष्य स्टार्सले १८.४ ओभरमा ३ विकेट गुमाउँदै पुरा गरेको हो। मेलबर्न स्टार्सको लागि कप्तान ग्लेन म्याक्सवेलले विस्फोटक पारी खेले। उनले ४५ बलमा ७ छक्का र १ चौकाको मद्धतमा नटआउट ८३ रन बनाए। त्यस्तै हिल्टन कार्टराइटले ३५ रन र निक लार्किनले ३४ रन बनाए।
त्यसअघि पहिले ब्याटिङ गरेको रेनेगेड्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ६८ रन बनाएको थियो। उसको लागि शाउन मार्सले ६३ रन, मार्कस ह्यारिसले ४२ रन बनाएका थिए।
स्टार्सको बलिङतर्फ सन्दीपले मध्यम प्रदर्शन गरे। उनले ४ ओभरमा ३९ रन खर्चिएर २ विकेट लिएका थिए। स्टार्स ८ खेलमध्ये ७ मा जित निकाल्दै तालिकाको शीर्षस्थानमा छ।