काठमाडौं– पौस २६ गते शनिबार ‘लालबहादुर गन्धर्व सारंगी साँझ २०६७’ आयोजना हुने भएको छ। गन्धर्व परम्पराका जीवित इतिहास लालबहादुरको यो पहिलो एकल साँझ हो।
रेडियो नेपालमा भएको गन्धर्वहरुको राष्ट्रिय भेलामा प्रस्तुति दिएर चर्चा कमाएका गोरखाका लालबहादुर जनकवि धर्मराज थापाको सम्पर्कबाट काठमाडौं आएका थिए। उनी नब्बे सालको महाभूकम्प, विश्वयुद्ध, डाफे चरी, पृथ्वीनारायण शाहको जीवनी, जङ्गबहादुरको सत्ता उत्थान लगायतका कर्खा र सवाईबाट राष्ट्रिय स्तरको चर्चा बटुलेका कलाकार हुन्।
प्रतिभा, क्षमता र चर्चाका बावजुद उनी लामो समयदेखि गोरखामै बस्दै आएका छन्। गोरखा घ्याम्पेसाल काठमाडौं सेवा समाज र गन्धर्व सांस्कृतिक कला केन्द्रको संयुक्त आयोजनामा हुने कार्यक्रम प्रज्ञा प्रतिष्ठानको पुस्तकालय हलमा दिउँसो २ बजेदेखि साँझ ७ बजेसम्म चल्नेछ।