काठमाडौं– तनहुँमा एक शिक्षिकाको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भेटिएको छ। तनहुँको जन जौ कुमारी शाही प्राथमिक विद्यालय मनपाङमा अस्थायी शिक्षिका रुपमा कार्यरत तृतीय श्रेणीकी शिक्षिका अनिता पोखरेल वाग्लेको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कल रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।
उनले भारतबाट एसएलसी सरहको हाईस्कुल परीक्षा उत्तीर्ण गरेको झुठ्ठा प्रमाणपत्र पेश गरी १९ वर्ष प्राथमिक शिक्षकको रूपमा अस्थायी नियुक्ति लिएर अध्यापन गरेको अख्तियारको दाबी छ।
उनले नक्कली प्रमाणपत्र पेश गरी २०५६ साल मंसिर १० गते प्राथमिक शिक्षकको अस्थायी नियुक्ति २०७५ साल चैत्र ८ गतेसम्म विद्यालयमा कार्यरत रही सार्वजनिक पदको लाभ तथा सुविधा प्राप्त गरेको देखिएकोले उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन बमोजिम सजायको माग दाबीसहित मुद्दा दायर गरेको अख्तियारले जनाएकाे छ।