काठमाडौं — डिजे, बार, धूमपान कक्ष, पेन्ट्री, वाइफाई, डान्स फ्लोर, एयर कन्डिसन, शौचालय आदिको सुविधा समेटिएको पार्टी बस पहिलो पटक काठमाडौं भित्रिएको छ। तर यसभित्र सिट भने छैन।
भारतको टाटा मोटर्सले उत्पादन गरेको बसको च्यासिसलाई पार्टी गर्न मिल्ने थालेको रुपमा परिमार्जन गरिएको छ। सोफा शैलीमा दुईतिर काउच राखिएको छ, जहाँ एक पटकमा ३६ जनाले यात्रा गर्न सक्छन्। बसभित्रै मदिराको सुविधा र खाना तताउने उपकरणसहितको बार छ।
त्यससँगै अगाडि एकजना डिजे हुन्छन्। संगीतको आनन्दमा मदिरा तथा कफी पिउँदै यात्रा गर्न सकिन्छ। रियल इकोनोमिक सस्टिनेबल सोसाइटी नेपाल (रेस नेपाल)ले यो बस एक साताभित्रै व्यावसायिक रुपमा सञ्चालनमा ल्याउँदै छ।
पार्टी राइड, एयरपोर्ट पिकअप, घुमफिर, पिकनिक, विवाह, निजी कार्यक्रम आदिमा यो बस प्रयोग गर्न सकिनेछ। बस प्रयो गर्न चाहनेले प्रति तीन घण्टाको ३५ हजार रुपैयाँ शुल्क तिर्नुपर्ने रेस नेपालले जानकारी दिएको छ।