सिमकोट – पोल गाडेको पाँच वर्ष बितिसक्दा पनि अन्धकारमा बस्नुपर्ने अवस्था हुम्लाको चंखेली गाउँपालिका बासिन्दाको रहेको छ। बिजुली बत्ति बालेर गाउँ झिलिमिली पार्ने उनीहरुको सपना अझसम्म पनि पुरा हुन सकेको छैन।
खारखोला जलविद्युत आयोजनाको पावरहाउसमा लागत इष्टिमेट अनुसार स्थानीय उपभोक्ता समितिले काम नगर्दा बिद्युत उत्पादन हुन नसकेको हो। ७५ किलोवाट विद्युत उत्पादन क्षमता भएको खारखोला लघु जलविद्युत आयोजनाबाट वितरण हुने बिजुलीका लागि पाँच वर्ष पहिले नै पोल गाडेर, तार टाँगी गाउँलेलाई ट्रान्समिटर पनि वितरण भएको स्थानीयबासिन्दा नवल न्यौपानेले बतााए।
जताततै पोल गाड्ने, तार झुण्ड्याउने र घरघरमा वायरिङ गर्ने काम भए पनि हालसम्म बत्ति भने बल्न सकेको छैन। पावर हाउसमा बत्ति बलेको भए पनि पहिलेको स्थानीय उपभोक्ता समितिले पावर हाउस, ट्याङ्की र पेनिष्टीक पाइपको काम लागत इष्टिमेट अनुसार नगरेकाले विद्युत उत्पादन हुन नसकेको गाउँपालिकाका अध्यक्ष धनलाल चौलागाईले बताए।