लाहान– सिरहा कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखेका कारण खानेपानी तथा शौचालय गर्न कैदीबन्दीलाई समस्या भएको छ। क्षमताभन्दा बढी कैदीबन्दी राखिएका कारण सुत्न बस्नको साथै नुहाउन, दिसापिसाब गर्नसमेत निकै समस्या भएको कैदीबन्दी बताउँछन्। त्यसमा पनि पुरुष कैदीबन्दीभन्दा महिला कैदीबन्दीलाई ठूलो समस्या छ। उनीहरुलाई एउटै शैय्यामा तीन जनासम्म सुत्नुपर्ने बाध्यता छ।
सिरहा कारागारमा १सय ३५ पुरुष र १५ महिला गरी १५० कैदीबन्दी राख्ने क्षमता रहेकामा हाल ४ सय ६८ पुरुष र २२ महिला कैदीबन्दी तथा उनीहरुसँगै आश्रित एक बालक र दुई बालिकालाई राखिँदा खान, बस्न र सुत्नसमेत समस्या भइरहेको कैदीबन्दीको भनाइ छ। ‘एउटै कोठामा १०१२ जनासम्म कोचाकोच गरेर राख्दा सुत्न बस्न ठूलै समस्या भइरहेको छ’, कारागारमा कैदी जीवन बिताइरहेका ज्ञानबहादुर थापा मगरले भने, ‘क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी राखिएको छ, तर जम्मा १२ मात्र शौचालय छ।’ यस्तै अवस्था छ, महिला कैदीबन्दीको पनि।
दुई कोठामा राखिएका महिला कैदीबन्दीका लागि केवल दुई शौचालय र एउटा स्नानगृह रहेकाले समस्या भएको महिला कैदीबन्दीको भनाइ छ । एउटा कोठामा १० जनासम्मलाई पुग्ने खाट नअटेपछि तीनतीन जना एउटै खाटमा सुत्नुपरेको र खाटमा नअटेर केही महिला बन्दी भुइँमै सुत्न बाध्य भएको थुनामा रहेकी शुभकलादेवी यादवले भने, ‘कोठा र खाटको अभावले आफूहरुलाई भुइँमै बस्नुपर्ने बाध्यता छ।’
क्षमताभन्दा बढी बन्दी राखिँदा दैनिक जीवन असहज बनेको उनले बताए। ‘आफूहरुको कैद सजाय यातनाजस्तै भएको छ। न त आफूहरुको यहाँ स्वास्थ्यकै ख्याल छ न त कुनै सुविधा नै, त्यसमा पनि भवन जीर्ण छ’, उनले भने। क्षमताभन्दा अत्यधिक कैदीबन्दीका कारण ठूलै समस्या सिर्जना भएको कारागारमा जेलर बबिता महतो बताउछन्। भवन अभाव र त्यसमा पनि जीर्ण कारागारभित्र अत्यधिक कैदीबन्दी राखिएका कारण उनीहरुलाई कष्टकर जीवन बिताउनुपर्ने बाध्यता रहेको जेलर महतो बताउछन्। (रासस)