काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पार्टीका सांसद विनोद चौधरीको सीजी कम्युनिकेसनमाथि सरकारले प्रतिशोधपूर्ण व्यवहार गरेको आरोप लगाएको छ। सम्पूर्ण प्रक्रिया पूरा गरेको र कुनै वक्यौता नरहेको औद्योगिक घरानाप्रति सरकारले गरेको व्यवहारलाई पार्टीले दुःखद् रुपमा लिएको प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै उल्लेख गरेका छन्।
‘सरकारले नै गत वर्ष आयोजना गरेको लगानी सम्मेलनमा सरकारकै उपस्थितिमा विदेशी साझेदारसँग सीजी कम्युनिकेसनले सम्झौता गरेको, सम्पूर्ण प्रकृया पूरा गरिएको र कुनै वक्यौता रकम नरहेको स्थितिमा प्राधिकरणमार्फत प्रक्रिया टुंग्याएर अनुमति दिनुपर्ने विषय स्वयं सरकारकै प्राथमिकतामा नपर्नु कुनै निश्चित पूर्वाग्रह देखिन्छ,’शर्माद्वारा शनिवार जारी विज्ञप्तिमा भनिएको छ, ‘नियतबस गरिएको यस्तो भेद र निरुत्साहित गर्ने प्रयत्नप्रति नेपाली कांग्रेस खेद प्रकट गर्दछ।’
विज्ञप्तिमार्फत शर्माले नेपालमा इन्टरनेटको मूल्य दक्षिण एशियामै महँगो रहेकोले निजी क्षेत्रलाई प्रोत्साहित गरेर सस्तो र सहज बनाउने दिशामा अघि बढ्न सरकारलाई सुझाएका छन्। टेलिकम कम्पनीहरुका सम्बन्धमा मन्त्रिपरिषद्ले गरेको निर्णय सार्वजनिक भएपश्चात् त्यसमा रहेको वेथितिप्रति कांग्रेसको ध्यानाकृष्ट शर्माले उल्लेख गरेका छन्। केहीदिन अगाडिको मन्त्रिपरिषद् बैठकले नेपाल स्याटेलाइट, स्मार्ट र वेबसर्फर टेलिकम कम्पनीका लाइसेन्स खारेजीको निर्णय उल्ट्याएको थियो।