हेटौंडा– शनिवार (आज) बसेको प्रदेश सभा बैठकले पनि प्रदेश नम्बर–३ को नाम र राजधानीबारे टुंगो लगाउन सकेन।
राजधानी र नामकरणका सम्बन्धमा छलफलपछि स्थकित भएको बैठक आइतवार विहान ९ बजेका लागि बोलाइएको छ। आइतवारको बैठकमा प्रदेशको नाम र राजधानीका विषयमा मतदान हुनेछ। प्रदेश नं ३ को राजधानी र नामकरणका सम्बन्धमा आज प्रदेशसभाको सचिवालयमा दुईवटा प्रस्ताव दर्ता भएका छन्। आजै दिउँसो भएको प्रदेशसभाको बैठकमा ती प्रस्तावमा छलफल भएपनि निर्णय भने भोलिमात्र हुनेछ।
हेटौँडालाई प्रदेश नं ३ को राजधानी बनाइनुपर्छ भन्ने प्रस्तावको पक्षमा नेकपा संसदीय दलका नेता तथा ३ नं प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल रहेका छन् भने उक्त प्रस्तावलाई समर्थन गर्नेहरुमा प्रतिपक्ष दलका नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्र बानियाँ, राप्रपाका रीता माझी र राप्रपा संयुक्तका रीना गुरुङ छन्।
यसैगरी काभ्रेपलाञ्चाक जिल्लालाई ३ नं प्रदेशको राजधानी हुनुपर्छ भन्ने विवेकशील साझा दलका नेता रमेश पौडेल प्रस्तावक रहेका छन् भने समर्थकमा सोही दलका प्रदेशसभाका सदस्य विराज भट्ट श्रेष्ठ र शोभा शाक्य छन्। प्रदेशसभामा एक सय दश जना सदस्य छन् भने हेटौँडालाई राजधानी बनाउनुपर्ने पक्षमा एक सय सात जना छन्।