काठमाडौं– नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) को नयाँ नेतृत्व चयनको प्रक्रिया चुनावबाटै हुने भएको छ। नयाँ कार्यसमिति चयनको लागि सबै पद सर्वसम्मतिबाटै चयन गर्ने प्रयास गरिएपनि उपाध्यक्ष लगायत अन्य केहि पदहरुमा उम्मेदवारी पर्ने भएपछि चुनाव हुने निश्चित भएको हो।
हिजो अबेरसम्म सर्वसम्मतिको लागि प्रयास गरिएपनि सहमति जुट्न नसकेको हो। ईक्यानको उपाध्यक्ष पदका लागि कृष्णहरि केसीले यसपटक पनि स्वतन्त्र उम्मेदवारी दिने निश्चित भएको हो। ‘टिके प्रणालीबाट नेतृत्व चयन हुनुहुँदैन,’ कृष्णहरि केसीले नेपाली पब्लिकसँग भने,‘हारेपनि निर्वाचनबाटै हार्ने हो।’
उपाध्यक्ष्यबाहेक कोषाध्यक्ष पदका लागि पनि उम्मेदवारी पर्ने भएको छ। कोषाध्यक्ष पदका लागि राजेश्वर धिताल, प्रकाश श्रेष्ठ र पुष्पराज भट्टराई ले उम्मेदवारी दिने भएका छन्। त्यस्तै सहकोषाध्यक्ष पदमा कर्ण बहादुर गुरुङले उम्मेदवारी दिने भएका छन्।
यसअघि सर्वसम्मतिबाट नेतृत्व चयनका लागि ईक्यानका पूर्व अध्यक्षत्रय राजेन्द्र बराल, अरुण लामिछाने, र दिपक गुरुङ सम्मिलित कमिटि गठन गरेर सर्वसम्मतिको वातावरण निर्माण गर्ने प्रयास गरिएको थियो। तर सबै पदका लागि सर्वसम्मति जुट्न सकेन।
अध्यक्ष पदको लागि पूर्व अध्यक्ष प्रकाश पाण्डेको नाममा सहमति जुटिसकेको छ भने महासचिवमा दिपकराज भूसाल आउने पक्का भएका छन्। यसैगरी उपाध्यक्षमा महेशबाबु पक्षबाट राजेन्द्र रिजाल, प्रकाश पाण्डे पक्षबाट शेषराज भट्टराई र देवीदास भट्टराईको नाममा सहमती जुटेको छ।
सचिवमा महेशबाबु पक्षका एन्ड्र्यु पौडेल र प्रकाश पाण्डे पक्षबाट बासुदेब दाहालको नाममा सहमती जुटेको छ। यसअघिको निर्वाचनमा पनि स्वतन्त्र उम्मेदवारी दिएर पराजित भएका कृष्णहरी केसीले कुनैपनि हालतमा सर्वसम्मतिमा नजाने अडान लिएका छन्। ‘विधान नै संशोधन गरेर टिका लगाई अध्यक्ष पद दिएपनि लिन्न,’ केसीले भने,‘निर्वाचनले जे नतिजा दिन्छ त्यही नै मान्य हुनेछ।’ परामर्श व्यवसायी वृत्तमा चलेको चर्चाअनुसार अपाध्यक्ष पदका लागि निर्वाचन भएमा केसीले जित्ने प्रवल सम्भावना छ।
सर्वसम्मतिको निर्णयबाट असन्तुष्ट रहेका ठूलो संख्याका सदस्यहरुले केसीलाई नै भोट हाल्ने बताएका छन्। नाम उल्लेख नगर्ने शर्तमा ईक्यानका एक सदस्यले भने,‘आफूलाई मन लागेको व्यक्ति मात्रै चयन गर्न त कहाँ पाइन्छ ररु’ उनले थपे,‘उनीहरुको एकलौटी निर्णय गर्ने रवैयालाई तोड्नको लागि भएपनि कृष्णहरिले जित्नुपर्छ।’
अहिले बानेश्वरस्थित तारे होटेलमा ईक्यानको महाधिवेशनको बन्दसत्र शुरु भएको छ। बन्दसत्रपछि हुने भनिएको निर्वाचन आज नै हुने सम्भावना भने न्यून रहेको छ।