एजेन्सी– भारतको बेङलोर, मनमाड र भुसावल रेल्वे स्टेशनमा आर्टिफिसियल इन्टेलिजेन्समा आधारित फेशियल रिकोग्निशन (अनुहारबाट पहिचान गर्ने) प्रविधिको प्रयोगात्मक प्रयोग गर्न लागिएको छ। अपराधिको पहिचान गर्न र उनिहरुलाई पक्राउ गर्नका लागी उक्त प्रविधिको प्रयोग गर्न लागिएको भारतीय रेल्वे अधिकारीहरुले जानकारी दिएका हुन्।
रेल्वे सुरक्षा बल (आरपीएफ)को उद्धेश्य फेशियल रिकोग्निसन प्रणालीलाई क्राइम एन्ड क्रिमिनल ट्रयाकिङ सिस्टमसँग जोडनु रहेको छ। यसले रेल्वे स्टेशनमा घुम्ने अपराधीहरुको पहिचान गर्नमा मदत पुर्याउँछ। अनुहार बाट पहिचान गर्ने सफ्टवेयरले कुनै चिनिएको अपराधीको बारेमा आरपिएफ कमाण्ड केन्द्रलाई जानकारी गराउनेछ।
अधिकारीहरुका अनुसार यस प्रविधिको प्रशिक्षण प्रयोगपछि यसलाई पुरै भारतीय रेल्वे नेटर्वकमा जडान गरिनेछ। भारतीय रेल्वेको तर्फबाट जारी गरिएको एक बक्तव्यअनुसार रेल्वे बोर्डले निर्भया कोषको प्रयोग गर्दै ९ सय ८३ स्टेशनहरुलाई समावेश गरेर भिडियो निगरानी प्रणाली (भिएसएस) अन्तर्गत काम गर्नको लागी पनि आफ्नो स्वीकृति दिएको छ।
चीनमा पहिले देखिनै फेशियल रिकोग्निसन सिस्टम आइसकेको छ। चीनमा फेशियल रिकोग्निसन सिस्टमको प्रयोग एयरर्पोटको सुरक्षा, अपराध र ट्राफिक कन्ट्रोलको लागी गरिन्छ। चीनका सुरक्षाकर्मीलाई फेशियल रिकोग्निसन सिस्टमबाट धेरै सहयोग भएको बताईएको छ। यस सिस्टमको प्रयोगबाट सुरक्षा अधिकारी र आम मानिसको व्यबहारमा समेत परिर्वतन आउँछ।