काठमाडौं– जोरपाटी अत्तरखेलस्थित नेपाल मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारको क्रममा सुत्केरीको मृत्यु भएको छ। सुत्केरीको मृत्यु भएपछि उनका आफन्तहरु अस्पतालको लापरवाहीका कारण बिरामीको मृत्यु भएको भन्दै आक्रोश भएका छन् र अस्पतालमा तोडफोड गरेका छन्।
भोजपुर षडानन्द नगरपालिका–८ की सुनिता राईले २४ गते विहिवार राति ११ बजे बच्चालाई जन्म दिएकी थिइन्। बच्चा जन्मन समस्या भएपछि भ्याकुम लगाएर बच्चा निकालिएको थियो।
बच्चा जन्माउने क्रममा चिकित्सकहरुले लगाएका भ्याकुमलाई सही रुपमा प्रयोग नगरिएको र भ्याकुमले सुत्केरीको पाठेघरसमेत तानेर चुँडाइदिएको आरोप मृतकका आफन्तले लगाएका छन्। बच्चाको अवस्था भने सामान्य छ।
आफन्तले घटनाको छानबिन गरी दोषीलाई कारबाहीको माग गर्दै प्रदर्शन गरेका छन्। अस्पतालमा तोडफोड शुरु भएपछि अस्पताल प्रशासनले प्रहरीसँग सुरक्षा माग गरेको थियो। अहिले अस्पतालमा प्रहरीको बाक्लो उपस्थिती रहेको छ।