तनहुँ– व्यास नगरपालिकाभित्र पानीको समस्या समाधान गर्न मादी नदी नयाँ लिफ्टिङ आयोजनाको विस्तृत परियोजना प्रतिवेदन तयार (डिपिआर) सम्पन्न भएको छ। नगरपालिकाको १४ वडामध्ये १ मा सबैभन्दा धेरै दुई हजार ४६० जनसङ्ख्या रहेका छन्।
वर्षमा २०० देखि ३०० सम्म नयाँ घर निर्माण हुने क्रम बढेसँगै यस क्षेत्रमा खानेपानीको समस्या रहँदै आएको छ। भादगाउँ करादी खिरखादी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले हालसम्म दुई हजार २७१ निजी धारा जडान गरिसकेको छ। करीब एक नयाँ धारा जडानका लागि उपभोक्ताले निवेदन दिएको समितिले जनाएको छ।
विसं २०५६ मा स्थापना भएको उक्त संस्थाले शुरुमा ५२ सार्वजनिक धारा वितरणकार्यबाट शुरुआत गरेको उक्त समितिले छाब्दी खोलाको मुहान र खिरखादी खोलाको मुहानको पानीले उपभोक्तामा वितरण गर्दै आएको छ। खानेपानीले पनि त्यस क्षेत्रमा सहज नभएपछि व्यास नगरपालिका कार्यालय र खानेपानी संस्थाको सहलगानीमा रु ५० लाखको छाब्दी खोला विद्युतीय लिफ्टिङ आयोजना सम्पन्न गरी खानेपानी वितरण गर्दै आएको समितिका सचिव राजेश्वर हड्खलेले जानकारी दिए।
खिरखादीको मुहानबाट नौ लिटर र छाब्दी खोलाको दुई विद्युतीय लिफ्टिङबाट नौ लिटर गरी १८ लिटर प्रतिसेकेण्ड पानीको क्षमता रहेको उनले बताएका छन्। मुहानदेखि उपभोक्ताको धारासम्म खानेपानी सुरक्षा विभागको मापदण्डअनुरुप सफा, शुद्ध र गुणस्तरयुक्त खानेपानी लागि समितिले मुहान र ट्रिटमेन्ट प्लान्टको सुरक्षा तथा सरसफाइ खानेपानीको दैनिक गुणस्तर परीक्षण गर्दै आएको खानेपानी उपभोक्ता समितिले जनाएको छ।
नेपाल सरकारको ७० प्रतिशत र खानेपानी समितिको ३० प्रतिशतको सहलगानीमा सो योजनाको लागि करीब रु २९ करोड ८२ लाखको डिपिआर सर्भेकार्य सम्पन्न भएको छ। हाल नयाँ योजनाअन्तर्गत २५० घनामिटर क्षमताको रिजर्भ ट्याङ्की ट्रिटमेन्ट प्लान्ट निर्माण गरी करीब २० किलोमिटर दूरीको शाखा लाइनमा पाइप बिच्छ्याउने कार्य सम्पन्न भएको छ। उक्त आयोजनाको ट्रिटमेन्ट प्लान्ट निर्माणको लागि संस्थाले दुई रोपनी चार आना जग्गासमेत खरीद गर्नुपरेको थियो।
उक्त आयोजना आगमी तीन वर्ष्भित्र सम्पन्न गर्ने लक्ष्य रहेको उपभोक्ता समितिले जनाएको छ। उपभोक्ताहरुको ध्यानलाई मध्यनजर राख्दै खानेपानी समितिले इ–सेवा र आइएमइ–पेमार्फत तथा मोबाइल बैँकिङमार्फत पनि भुक्तानी गर्ने व्यवस्था मिलाइएको समितिका व्यवस्थापक ईश्वर श्रेष्ठले बताएका छन्।
भादगाउँ क्षेत्रमा तीव्ररूपमा शहरीकरण बढ्दै गएकाले खानेपानीको समस्यालाई सहजरूपमा पूर्ति गर्न नयाँ योजनाको निर्माणकार्य अघि बढाइएको हो। समितिले नयाँ घर निर्माणअगावै धारा जडान गर्दा रु ३५ हजार, व्यक्तिगत नयाँ धारा जडान गर्न रु २१ हजार ८०० र संस्थागत रु १० हजार शुल्कमा धारा जडानको व्यवस्था मिलाएको समितिका अध्यक्ष चिजबहादुर दरैले जानकारी दिएका छन्। (रासस)