भक्तपुर– भक्तपुरमा एक युवकले अन्धाधुन्ध खुर्पा प्रहार गर्दा एक प्रहरी हवलदारसहित ४ जना घाइते भएका छन्। भक्तपुर–२० स्थित पाइपलाइनमा एक युवकले खुर्पा प्रहार गरी दुई जनालाई घाइते बनाएको सूचना प्राप्त हुनसाथ प्रहरी घटनास्थलमा पुगेको थियो।
जाजरकोटा नलगाढ घर भएका २० वर्षीय रामबहादुर विकलाई भाग्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गर्न खोज्दा उनले प्रहरीमाथि नै खुर्पा प्रहार गरेका थिए। घाइते हुनेमा महानगरीय प्रहरी प्रभाग व्यवासीमा कार्यरत प्रहरी हवलदार जितेन्द्र यादव र प्रहरी जवान टोलबहादुर श्रेष्ठ रहेका छन्।
त्यस्तै कमलविनायक बस्ने ६० वर्षीया भुनामाया थापा र ४५ वर्षीया राजमती ज्याकिबन्जारलाई विकले खुर्पा प्रहार गरि घाइते बनाएका छन्। थापाको मध्यपुर अस्पतालबाट थप उपचारको लागि छाउनीस्थित नेपाली सेनाको अस्पतालमा रिफर गरी उपचार भइरहेको छ भने ज्याकिबन्जार मध्यपुर अस्पताल भक्तपुरमा उपचाररत छन्।
सूचना अधिकृत प्रहरी निरीक्षक पञ्चलाल गोलेले विकले प्रहरीको बा २ झ १८५ नम्बरको सिआरभी भ्यानको सीसा समेत फुटाएको जनाएका छन्। त्यस्तै प्रहरीको सञ्चार सेटमापनि क्षति पुगेको छ। विकलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।