काठमाडौं– एक पक्षले निर्वाचन प्रक्रिया बहिस्कार गरेपनि नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) को नयाँ कार्यसमिति घोषणा भएको छ। पदीय भागबण्डामा कुरा नमिलेपछि अन्तिम समयमा सर्वसम्मतिमा कार्यसमिति घोषणा गर्ने सहमति भंग भएको थियो।
सर्वसम्मतिबाट कार्यसमिति चयन गर्ने अधिकार पाएको तीन पूर्व अध्यक्षहरूको कमिटिले महेशबाबु तिमल्सिना र प्रकाश पाण्डेको प्यानलबीच सहमति जुटाएतापनि अन्य पदका आकांक्षीहरूको चित्त बुझाउन नसक्दा इक्यान नेतृत्वको चयन प्रक्रिया अन्तिम समयमा चुनावी प्रक्रियामा गएको थियो।
पूर्वसहमतिअनुसार अध्यक्षत्रयको कमिटिले सर्वसम्मतिमा कार्यसमिति चयन गर्न असफल भएपछि माहोल बिग्रिएको थियो। घोषणा भएको नयाँ कार्यसमितिको अध्यक्षमा प्रकाश पाण्डे छन् भने प्रथम उपाध्यक्षमा देवीदास भट्टराई, द्वितीय उपाध्यक्षमा शेषराज भट्टराई र त्रितीय उपाध्यक्षमा कृष्ण केसी निर्वाचित भएका छन्।
त्यसैगरी नयाँ कार्यसमितिको महासचिव पदमा दीपक भूषाल, प्रथम सचिवमा बासुदेव दाहाल, द्वितीय सचिवमा बालकृष्ण श्रेष्ठ , कोषाध्यक्षमा प्रकाश श्रेष्ठ र सह–कोषाध्यक्ष कर्ण बहादुर गुरुङ रहेका छन्। यस्तै सदस्यहरूमा सुष्मा आचार्य, भवनाथ हुमागाई, रत्न भट्टराई, शुवास गौतम, बिकल्प पोखरेल, आर्यन उप्रेती, नवराज भट्टराई र शिव त्रिपाठिलगायत रहेका छन्।