काठमाडौं– नेपालमा पछिल्लो समय यौन हिंसाका क्रियाकलापहरु एकदमै बढिरहेका छन्। कतिपय घटनाहरु मानिसले खुलासा गर्न नचाहेर पनि खुलासा भईरहेका छन्। यस्तैमा ‘हिमालय रोडिज सिजन–३’ की एक प्रतियोगीले आफूमाथि भएकाे याैन हिंसाकाे खुलासा गरेकी छिन्।
सिर्जना नाम गरेकी उनले प्रतियाेगिता दाैरान रुँदै भनिन्, ‘म सानै छँदा अंकल पर्नेबाट यौनहिंसाको शिकार भएँ। मेरो आमाबुवा नभएकाले अंकल पर्नेले ममाथि यौनजन्य दूर्व्यावहार गरिरह्यो। मैले यो कुरा कसैलाई सुनाउन सकिन, परिवारलाई पनि। अहिलेसम्म मनमै लुकाएर राखें। आज यही कार्यक्रममा पहिलो पटक भन्दैछु।’ बोल्दाबोल्दै उनी भक्कानिन्छन्। आँशु लुकाउन सक्दिनन्।
सिर्जनालाई सोधिन्छ, ‘अंकलले त्यस्तो व्यवहार गरिरहँदा पनि किन चुपचाप बसेकी? किन कुरा लुकाएकी?’ सिर्जना भन्छिन्, ‘परिवारमा कलह नहोस् भनेर।’ सम्मुखमा बसेका टिम लिडरले उनलाई यस्ता कृत्यमाथि खुलेर विद्रोह गर्नुपर्ने सुझाउँछन्। त्यसपछि उनीमाथि दूव्र्यवहार गर्ने ‘अंकल’ माथि रिस पोखाउन लगाइन्छ। सिर्जना अब अंकलमाथि आफ्नो लुकेको कुरा पोख्न थाल्छिन्। हिमालय टेलिभिजनबाट प्रसारण भइरहेको ‘हिमालय रोडिज सिजन–३’ अन्तर्गत चितवन अडिसनको दृश्य हो यो।
त्यसो त हिमालय रोडिज एक साहस, रोमाञ्चकता र रहस्यको खेल हो। यो एडभेन्चर रियलिटी शोमा त्यस्ता तन्नेरीहरु चुनौती मोल्न आइपुग्छन्, जो आफुलाई पृथक र अब्बल देखाउन चाहन्छन्। यद्यपि प्रतियोगितामा सामेल भइरहँदा उनीहरुले आफ्ना तीता–मीठा विगत पनि खोतल्ने गरेका छन्। आफ्ना पिंडा पोख्ने गरेका छन्। कसैले होस्टलमा सिनियरबाट बुलिङको शिकार भएको बताएका छन् भने कसैले यौन दूर्व्यवहार झेलेको कुरा सुनाएका छन्।
साहसिक एवं रोमाञ्चक, आश्चर्यजनक एवं कौतुहलताले भरिपूर्ण ‘हिमालय रोडिज’ को तेस्रो संस्करण जारी छ। यसमा तन्नेरी पुस्ताको क्रेज लोभलाग्दो छ। थरीथरीका तन्नेरीले प्रतियोगितामा सहभागिता जनाइरहेका छन्।
प्रतियोगिताका लागि धरान, चितवन, नेपालगञ्ज, पोखरा र काठमाडौंमा अडिसन लिइएको थियो। प्रतियोगिताको दुई सिजन निकै लोकप्रिय रह्यो। पहिलो र दोस्रो सिजनमा तीन जना निर्णयक थिए। यस सिजनमा भने चार जना टिम लिडर छन्। यस सिजनका लागि रेमनदास श्रेष्ठ होस्ट बनेका छन् भने ग्याङ लिडरमा आशिष राना ‘लाहुरे’, दीया मास्के, अनुपविक्रम शाही र समन श्रेष्ठ छन्। यो भारतीय फ्रेन्चाइज शो एमटिभी रोडिजको नेपाली संस्करण हो।