काठमाडौं — प्रदेश ३ को स्थायी राजधानी हेटौँडा घोषणा गरिएको छ। आइतबार बिहान प्रदेश नं. ३ को प्रदेशसभा बैठकले दुई तिहाइ मतका साथ स्थायी राजधानी हेटौंडानै राख्ने प्रस्ताव पास गरेको हो।
प्रदेश ३ को प्रदेशसभा बैठकमा आइतबार भएको मतदानमा प्रदेशको स्थायी राजधानी हेटौडा बनाउने प्रस्तावको पक्षमा १सय ५ मत मात्र परेको हो। त्यस्तै विपक्षमा अर्थात हुन्न भन्ने पक्षमा ३ मत परेको छ। मत विभाजनपछि सभामुख सानुकुमार श्रेष्ठले मत परिणाम सुनाउँदै हेटौँडा राजधानी दुई तिहाई बहुमतले स्वीकृत भएको घोषणा गरेका छन्।
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रदेश कमिटीले हेटौंडालाई राजधानी बनाउने निर्णय गरेको थियो। यस्तै नेकपा सचिवालय बैठकले पनि हेटौंडालाई राजधानी बनाउने निर्णय गरेको थियो। यसअघि प्रदेश ३ को स्थायी राजधानी काभ्रेको धुलिखेल राख्ने प्रस्ताव अस्वीकृत भएको थियो। हेटौंडालाई प्रदेशको राजधानी बनाउने प्रस्तावको पक्षमा सत्तारूढ नेकपा, प्रमुख प्रतिपक्ष कांग्रेस, राप्रपा, राप्रपा (संयुक्त) ले मत दिएका थिए।