काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले पृथ्वीनारायण शाहका उपदेश र भनाईहरु संघीय लोकतान्त्रिक गणतन्त्रमा पनि सान्दर्भिक रहेको बताइकी छन्।
राष्ट्रपति भण्डारीले २९८ औँ जन्म जयन्तीको अवसरमा आइतबार पृथ्वीनारायण शाहप्रति श्रद्धा सुमन व्यक्त गर्दै सम्पुर्ण नेपालीलाई शुभकामना दिएकी छिन्। पृथ्वीनारायण शाहको नेतृत्वमा सुरु गरिएको एकिकरणको अभियान सफल भएको पनि उनले सन्देशमा उल्लेख गरेकी छिन्।
‘नेपाली समाज सांस्कृतिक विविधताबीच समन्वयको बलियो सूत्रमा एकताबद्ध भएको कुरा आत्मसात गर्दै यहाँको अमूल्य सभ्यता, संस्कृति र सम्पदालाई पृथ्वीनारायण शाहले सम्मान गर्नुभएको थियो,’ शुभकामना सन्देशमा लेखिएको छ, ‘नेपाल सबै जातको साझा फूलबारी भएको कुरा स्वीकार गर्दै जनताबीच भावनात्मक एकीकरण गर्नुपर्ने कुरामा उहाँ सजग हुनुहुन्थ्यो भन्ने कुरा उहाँका सन्देश र व्यवहारबाट स्पष्ट हुन्छ।’
उनले लेखेकी छन्, ‘जनचाहनालाई सर्वोपरि ठान्ने पृथ्वीनारायण शाहका जीवन्त दृष्टिकोणहरु मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि पनि सान्दर्भिक भएकाले आजको यस ऐतिहासिक दिनमा राष्ट्रिय एकतालाई थप सुदृढ पार्दै सदाचार र सुशासनलाई अझ बलियो बनाएर समृद्ध, स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने दिशामा सम्बद्ध सबै पक्ष परिचालित हुनुपर्ने कुरा महसुस गरेको छु।’