एजेन्सी – सन् २०१९ मा विश्वभरका विभिन्न स्थानमा १८ हजार घण्टा अवधिसम्म इन्टरनेट सेवा बन्द भएको छ। हालै सार्वजनिक भएकाे एक रिपोर्ट अनुसार सन् २०१९ मा इन्टरनेट बन्दका कारण विभिन्न सरकारी कार्यहरुमा अवरोध हुँदा ८ अर्ब डलर भन्दा बढिको नोक्सान भएको छ।
टप १० भीपीएसनले प्रकाशित गरेको तथा इन्टरनेट सोसाईटिद्धारा गरिएको इन्टरनेट अनुसन्धान रिपोर्टका अनुसार छिमेकी मुलुक भारतसहित अफ्रिकी देश चाड र पूर्वी एशियाली देश म्यानमारमा सबैभन्दा धेरै इन्टरनेट बन्द भएकाे हाे। तर, ईराक भने आर्थिकरुपमा सबैभन्दा बढी प्रभावित भएको छ। ईराकले मात्र २ सय ६३ घण्टासम्म इन्टरनेट तथा सामाजिक संजाल बन्द हुँदा २.३ अर्ब डलरको घाटा भोगेको रिपोर्टमा उल्लेख छ।
छिमेकी मुलुक भारतमा मात्रै सन् २०१९ मा १०० पटक भन्दा बढि इन्टरनेट पूर्ण वा आंशिकरुपमा बन्द गरिएका थिए। जसले गर्दा भारतीय अर्थतन्त्रलाई गत वर्ष १.३ अर्ब डलरभन्दा बढिको क्षति पुगेको टप१० भीपीएनले अनुमान गरेको छ।
पछिल्लो ५ वर्षमा इन्टरनेट बन्द गर्ने कार्य विश्वभर वृद्धि भईरहेको छ। सरकारहरुले विरोध र अशान्तिलाई नियन्त्रण गर्ने बहानामा त्यसलाई प्रयोग गर्दै आएका छन्। तर इन्टरनेटमा आएको अवरोधले औपचारिक अर्थतन्त्रमात्र नभएर अनौपचारिक अर्थतन्त्रका साथै अति कम विकसित राष्ट्रहरु प्रभावित भएको बताईएको छ। यसबाहेक मानवअधिकारको पक्षबाट हेर्दा यी बन्द वा रोकले नागरिकहरुको अभिव्यक्ति स्वतन्त्रता र सूचनाको अधिकारमा स्पष्टरुपमा असर पारेको रिपोर्टमा उल्लेख छ।