एजेन्सी – आइफोन निर्माता कम्पनी एप्पलले आफ्ना केहि आइफोन मोडलहरुका लागि ब्याट्रि रिप्लेसमेन्ट कार्यक्रम शुरु गरेको छ। यदि तपाईँ एप्पलले सन् २०१८ मा लन्च गरेका आइफोनहरु आइफोन एक्सआर, आइफोन एक्सएस र आइफोन एक्सएस म्याक्स मोडलहरुमध्ये कुनै एक मोडलको प्रयोगकर्ता हो भने सो कार्यक्रमको सुविधा उपलब्ध रहेका छन्।
यी मोडका आइफोनहरुका लागि स्मार्ट ब्याट्रि केसको नयाँ ब्याट्रि रिप्लेसमेन्ट कार्यक्रम ल्याएको हो। यो कार्यक्रमअन्तरगत दुई किसिमले प्रभावित भएका ब्याट्रि केसका विषयहरुलाई सम्बोधन गरिने कम्पनीले जनाएको छ। जसमा केसको ब्याट्रि चार्जिंग नभएको वा बेलाबेलामा मात्र चार्जिंग हुने गरेमा र अर्को कारणमा केसले आइफोनलाई चार्ज नै गर्न नसकेको वा बेलाबेलामा मात्र आइफोनलाई चार्ज गरिरहेको समस्याहरु पर्दछन्।
यो नियम सन् २०१९ जनवरी देखि २०१९ अक्टोबर महिनाभित्र उत्पादन गरिएका केसहरुका लागि लागू गरिएको छ। त्यसैले सो समय अवधिमा उत्पादन गरिएका केसहरु प्रयोग गर्ने आईफोन प्रयोगकर्ताहरु मात्र सो कार्यक्रमका लागि छनौट हुनेछन्। त्यस्ता समस्या भएका प्रयोगकर्ताहरुले निशुल्करुपमा ब्याट्रि परिवर्तन गर्न पाउनेछन्।
कम्पनीका अनुसार ग्राहकहरुले यसको लागि एप्पलको आधिकारीक सर्भिस दिने कम्पनी, एप्पल सपोर्ट वा एप्पल स्टोरमा सम्पर्क गर्न सकिने छन्। एप्पलको उक्त स्मार्ट ब्याट्रि केस रिप्लेसमेन्ट प्रोग्राम विश्वभर लागू भएको जनाएको छ।