काठमाडौं – आज दिउँसाे १ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक सूचना टाँसेर स्थगित भएको छ। सभामुख बारे निर्णय हुननसक्दा आइतबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक तेस्रो पटकस्थगित भएको हो। यसरी तेश्रो पटकपनि संसद बैठक स्थगित भएपछि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रतिनिधिसभालाई अनिर्णयको बन्दी नबनाउन सरकारलाई चेतावनी दिएको छ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आइतबार विज्ञप्ति जारी गर्दै सत्तारुढ नेकपाका कारण एक महिनादेखि सदन अवरुद्ध रहेको आरोप लगाएका छन्। ‘नेपाली कांग्रेस दलगत अनिर्णयको बन्दी प्रतिनिधिसभालाई नबनाउन सरकारलाई चेतावनी दिंदै तत्काल निकासको मार्ग प्रशस्त गर्न सरकार र सत्तारूढ नेकपालाई सचेत गराउँदछ,’ विज्ञप्तिमा छ। प्रवक्ता शर्माले प्रतिनिधिसभालाई सत्तारुढ दलभित्रको विवादको छाया बनाएको आरोप लगाएका छन्।
‘संसदीय प्रणालीमा सभामुखको विशेष नेतृत्वदायी भूमिका, गरिमा र महत्व हुन्छ,’ तर ३ महिनादेखि रिक्त भएको पदमा नयाँ सभामुख चयन गर्न प्रतिनिधिसभामा प्रक्रिया अघि नबढाइनु र सत्तारूढ दलभित्रको विवादको छायामा प्रतिनिधिसभालाई लाचार छाया बनाउन खोज्नु आपत्तिजनक र लज्जास्पद छ’ विज्ञप्तिमा भनिएको छ।