एजेन्सी– सन् २०१८ मा अमेरिकामा सार्वजनिक भएको ‘लास्सो’ एप अब भारतमा पनि सुरु हुने भएको छ। फेसबुकले टिकटकको प्रतिस्पर्धी एप ‘लास्सो’ सार्वजनिक गर्ने भएको हो। इनट्र्याकरका अनुसार कम्पनीले आउँदो मे महिनामा उक्त एप सार्वजनिक गर्ने भएको छ।
‘सेन्सर टावर’ (एपको विषयमा अध्ययन गर्ने कम्पनी)का अनुसार उक्त एप अमेरिकामा पाँच लाख पटक डाउनलोड भएको छ भने मेक्सीकोमा २२ लाख पुगेको छ। यसैबिच फेसबुकले ६२ करोड ७० लाख इन्टरनेट प्रयोगकर्ता रहेको भारतमा आफ्नो नयाँ एपको सेवा उपलब्ध गराउने भएको हो।
पछिल्लो समय भारतमा टिकटक सबैभन्दा सफल भएको छ। छोटो भिडियो सेयरिङ माध्यमको रुपमा उदाएको टिकटक भारतमा मात्रै ५० करोड डाउनलोड भएको छ। जुन टिकटकको कुल डाउनलोडको एक तिहाई हो। हालसम्म टिकटक एक अर्ब ५० करोड भन्दा बढी पटक डाउनालोड भएको छ।
भारतमा मात्रै यसका सक्रीय प्रयोगकर्ता २० करोड रहेको उल्लेख गरिएको छ। गत अप्रिलमा टिकटकमा पोर्न कन्टेन्ट फैलिएको भन्दै भारत सरकाले गुगल एप स्टोरमार्फत आफ्नो देशमा प्रतिबन्ध लगाएको थियो। यसै क्रममा त्यसको फाइदा फेसबुकले लिन सक्ने उल्लेख छ।
तर, कम्पनीले सुरक्षाको हिसाबले अझ धेरै काम गरेको बताएसँगै भारतले फेरी टिकटक खुला गरेको छ। खुला गरेसँगै भारतभर टिकटकका प्रयोगकर्ता ठुलोमात्रामा बढेका छन्। यस्तोमा फेसबुकले सार्वजनिक गर्न लागेको एप ‘लास्सो’ ले भारतमा कति प्रभाव पार्न सक्छ भन्ने प्रश्नको जवाफका लागि केही समय कुर्नु नै पर्ने हुन्छ।
लास्सो एपमा प्रयोगकर्ताले टिकटकमा जस्तै फिल्टर्स तथा विशेष इफेक्टसहितका छोटो फर्म्याटका भिडियो तयार पार्न र शेयर गर्न सक्ने छन्। फेसबुकका अनुसार यो एप निशुल्क रुपमा एन्ड्रोइड र आइओएस दुबै प्लाटफर्ममा उपलब्ध छ। प्रयोगकर्ताले आफ्नो इस्टाग्राम वा फेसबुक अकाउन्टबाट यो एपमा लगइन गर्न सक्दछन्।