काठमाडौं – निर्माण सामग्रीका लागि नदीमा मात्र निर्भर रहँदा त्यसले निकै समस्या उत्पन्न भएको छ। त्यसैले अब सरकारले देशभर नदीजन्य सामग्रीको वैध र अवैध रुपमा भइरहेको दोहनबारे विस्तृत अध्ययन गर्ने भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले बताए।
मन्त्रालयका भावी योजनाबारे जानकारी गराउन आइतबार मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री भट्टले यस्तो बताएका हुन्। शुक्रबार मात्र नदीजन्य सामग्रीको दोहनको विरोध गर्दा धनुषामा दिलिप महतोको हत्या भएको थियो। सोही घटनाको कारण मन्त्रालयलाई यस्ता उद्योगको अध्ययन गर्न प्रेरित गरेको हो।
मन्त्री भट्टका अनुसार अब नदीमा मात्र निर्भर रहेको निर्माण सामग्रीको आपूर्ति अब खानीतर्फ केन्द्रित गर्ने तयारी छ। त्यसका लागि खानी विभागले पहिचान गरेका १४ जिल्लाका ९१ स्थानबाट निर्माण सामग्रीको उत्खननमा निजी क्षेत्रलाइ सहभागी गराउन बोलपत्र आह्वान गर्ने तयारी मन्त्रालयले गरिरहेको छ।
सरकारले यसवर्ष बजार अनुगमनलाई तीब्र बनाउने पनि भट्टले जानकारी दिए। चालू आर्थिक वर्षभित्र काठमाडौंमा रहेका सबै पेट्रोल पम्पको अनुगमन गर्ने उनले जनाए।