काठमाडौं– सांसद विन्दादेवी आलेले बालुवाटार, ललिता निवास जग्गा प्रकरणबारे सरकारको जवाफ माग गरेकी छन्।
आइतबार राष्ट्रिय सभाको बसेको बैठकमा बोल्दै सांसद आलेले भनिन्, ‘तीन तीन वटा निकायले अनुसन्धान गरेको ललिता निवासको जग्गा विवादको प्रतिवेदन कहाँ छ, यो विषयमा सरकारले संसदलाई जवाफ दिनुपर्छ।
२०७५ फागुनमा सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)लाई अनुसन्धान गर्न भनेको थियो ।
शक्तिशाली नेता, व्यावसायीदेखि पूर्व प्रधानमन्त्रीहरू समेत तानिएको ललिता निवास क्याम्पभित्रको २९९ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा पारेको विषयमा अनुसन्धान गर्न सरकारले तीन वटा निकायलाई जिम्मा दिएको थियो। तर तीन पटक म्याद थप गर्दा पनि अनुसन्धान टुँगिएको छैन । असार, भदौ र मंसिरमा म्याद थप भएको थियो।