काठमाडौं – गोंगबुस्थित ढोरपाटन भलिबल प्रशिक्षण केन्द्रमा भएको न्यू डायमण्ड खुला महिला भलिबल प्रतियोगिताको उपाधी विभागीय सशस्त्र प्रहरी बलको एपीएफ क्लबले हात पारेको छ।
आइतबार भएको फाइनलमा आयोजक क्लब न्यू डायमण्डलाई ३–० को सोझो सेटले हराउदै एपीएफले उपाधि जीतेको हो। साविक विजेता समेत रहेको एपीएफले लगातार दोस्रो संस्करणका उपाधि उचालेको हो। उक्त खेलमा पहिलो सेट २५–२० ले जीतेको एपीएफले दोस्रो सेट २५–२३ र तेस्रो तथा अन्तिम सेट २५–१८ को अंकले जितेको हो।
उपाधि विजेता एपीएफले ४ लाख १ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको छ भने उपविजेता न्यू डायमण्डले ३ लाख १ हजार १ सय रुपैयाँ पुरस्कार पाउँदा तेस्रो भएको नेपाल पुलिस क्लबले १ लाख ५१ हजार १ सय १ रुपैयाँ तथा चौथो भएको आर्मी ५१ हजार १ सय १ रुपैयाँ पाएको छ।