काठमाडौं– ‘पर्खी बसे’ बक्स अफिसमा हिट भएको फिल्म हो। निर्देशक सौरभ चौधरीलाई ‘पर्खी बसेँ–२’ उत्कृष्ट बनाउनुपर्ने चुनौती छ। किनकी, करिब एक दशकअघि रिलिज भएको चलचित्र ‘पर्खी बसे’ भनेपछि अहिले पनि मानिसले उतिकै चासो दिएर हेर्न खोज्छन्। गोपिकृष्ण मुभिजबाट निर्माण भएको पछिल्लो हिट चलचित्र यही नै हो।
अब, गोपिकृष्ण मुभिज यही नाममा सिरिज बनाउँदैछ। चलचित्रको कथा लेखनको काम अगाडि बढिरहेको छ। वुझिएअनुसार, यो चलचित्रको पटकथा सञ्चारकर्मी सुशिल पौडेलले लेख्दैछन्। चलचित्रको मुख्य भूमिकामा को रहने भन्ने चर्चा पनि चलिरहेको छ। चलचित्रको निर्माणपक्षले भने नायिकाको रुपमा पूजा शर्मालाई अफर गरेको छ।
नायिका पूजा शर्माले पनि चलचित्रको अफर आफूलाई आएको स्विकार गरिन्। चलचित्रका निर्देशक सौरभ चौधरी भन्छन्, ‘हामी बलियो टिमअप बनाएर काम गर्ने तयारीमा छौ। यसका लागि कलाकार पनि बलियो चाहिन्छ। नायिका पूजा शर्मालाई अफर गरेको कुरा सत्य हो।’ चलचित्रमा २ नायक र एक नायिका हुनेछन्।
सांगीतिक प्रेमकथामा नै यो चलचित्र बन्नेछ। पूजासँगै चलचित्रको अफर नायक आकाश श्रेष्ठलाई पनि गएको छ। अर्का एक जना नायकको बिषयमा भने निर्माणपक्षले कसैलाई पनि अफर गरेको छैन। चलचित्रको छायाँङ्कन आउँदो बर्षबाट मात्र शुरु हुने निर्माण पक्षले जानकारी दिएको छ।