पोखरा– समृद्धि स्टिल्स राष्ट्रिय औद्योगिक व्यापार मेलाअन्तर्गत गरिएको खुला नृत्य प्रतियोगितामा अमृता सुनारले प्रथम स्थान हासिल गरेकी छन्। पोखरा उद्योग वाणिज्य सङ्घद्वारा नयाँबजारमा आयोजित प्रतियोगितामा गणेश तामाङ दोस्रो, विवश जलन्धर तेस्रो र सरिता दानकोटीले सान्त्वना स्थान प्राप्त गरेकी छन्।
उनीहरुलाई क्रमशः रु २० हजार, रु १५ हजार, रु १० हजार, रु पाँच हजार र रु दुई हजार नगदसहित मेडल र प्रमाणपत्र प्रदान गरियो। प्रतियोगितामा उत्कृष्ट नृत्य निर्देशतर्फ राहलु थापा घोषित भई रु दुई हजार नगदसहित र प्रमाणपत्र प्राप्त गरेका छन्।
यसैबीच जारी मेलाको समापनका अवसरमा लोकदोहोरी तथा पञ्चेबाजा प्रतियोगिताको अन्तिम निर्णय हुने आयोजकले जनाएको छ। दाजु बहिनी समूह काठमाडौँ र लोकदोहोरी प्रतिष्ठान गण्डकीले प्रतिष्पर्धा गर्दैछन्। सङ्घका महासचिव अर्जुन पोखरेलका अनुसार आइतबारसम्म करिब ९० हजारले मेलाको अवलोकन गरेका छन्। (रासस)