एजेन्सी – इरानकी ताइक्वन्दो खेलाडी तथा एकमात्र महिला ओलम्पिक पदक विजेता किमिया अलिजादेहले देश छाड्ने घोषणा गरेकी छन्। उनले सामाजिक सञ्जालमार्फत आफ्नो निर्णय सार्वजनिक गरेकी हुन्।
किमियाले सन् २०१६ मा रियो ओलम्पिकमा ताइक्वान्दोमा कास्य पदक जितेर इरानका लागि इतिहास रचेकी थिइन्। इरानमा प्रताडित लाखौं महिलाहरुमध्ये आफू पनि एक रहेको भन्दै उनले लेखेकी छन्, ‘म पाखण्ड, झूठ, अन्याय र चाप्लुसीको हिस्सा बन्न चाहँदिन्।’
उनी हाल कहाँ छिन् भन्नेबारे भने आधिकारिक जानकारी नभएपनि इरानी मिडियाहरुको अनुसार किमिया तालिमको सिलसिलामा नेदरल्याण्डमा गएकी हुनसक्छिन्। इरानी सैनिकले १ सय ७६ जना सवार युक्रेनको विमानमा रकेट प्रहार गरेर खसालेको विरोधमा सरकारविरुद्ध प्रदर्शन भइरहेको बेला २१ वर्षिया ओलम्पिक खेलाडी किमियाको यस्तो निर्णय सार्वजनिक भएको हो।
सुरुमा इरानले विमानमा आक्रमण नगरेको जनाएको थियो। तर पछि सेना प्रमुखले अमेरिकाले प्रहार गरेको ड्रोन ठानेर गल्तीले युक्रेनी विमानमा आक्रमण गरेको भन्दै गल्ती स्वीकारेका थिए। त्यसपछि सरकारी अधिकारीले झूठ बोलेको भन्दै इरानी जनता आन्दोलनमा उत्रिएका छन्।