एजेन्सी – सुपर स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोको गोलसँगै युभेन्ट्सले इटालिन सिरी ‘ए’ मा जित निकाल्दै लिगको शीर्षस्थानमा उक्लन सफल भएको छ।
युभेन्ट्सले रोमालाई उसकै मैदानमा २–१ को कठिन जित निकाल्दै इन्टर मिलानलाई २ अंकले पछि पार्दै शीर्ष स्थानमा उक्लन सफल भएको हो। जितपछि युभेन्ट्सको १९ खेलबाट ४८ अंक पुगेको छ। समान खेलबाटै इन्टर मिलानको ४६ अंक छ। इन्टर शनिबार राति एटलान्टासँग १–१ गोलको बराबरीमा रोकिएको थिया । रोमा ३५ अंकसहित पाँचौ स्थानमा यथावत छ।
स्टेडियो ओलम्पिको रोमामा आइतबार राति भएको खेलमा युभेन्ट्सको जितमा मेरिह डेमिरल र रोनाल्डोले गोल गरे। घरेलु टोलीका डिएगो पेरोटीले सान्त्वना गोल फर्काए। खेलको तेस्रो मिनेटमा नै मेरिह डेमिरलले गोल गर्दै युभेन्ट्सलाई शुरुवाती अग्रता दिलाएका थिए। पिजानिकको फ्रिकिकलाई मेरिह डेमिरले गोलमा परिणत गरेका थिए।
१०औं मिनेटमा रोनाल्डोले गोल गर्दै युभेन्ट्सको अग्रता दोब्बर बनायो। रोमाका जोर्डन भेरेटाउटले युभेन्ट्सका पाउलो डिबालालाई बक्समा लडाएपछि युभेन्ट्सको पेनाल्टीको मौका पाएको थियो। जसलाई रोनाल्डोले कुनै गल्ती गरेनन्।
१३औं मिनेटमा घरेलु टोली रोमाले गोल अन्तर कम गर्ने अवसर खेर फाल्यो। लोरेन्जो पेलिग्रेनीको प्रहार बाहिरियो। १८औं मिनेटमा पेलिग्रनीकै लो क्रसलाई युभेन्ट्सका गोलरक्षकले बचाएपनि रिवाउन्डमा रेबिओटले ब्लक गरिदिए। ३६औं मिनेटमा एलेक्सजेन्डर कोलारोभको प्रहार आकासियो। पहिलो हाफको शुरुमै दुई गोलको अग्रता लिएको युभेन्ट्सले उल्लेख्य मुभ बनाउन सकेन।
६६औं मिनेटमा रोमाले अर्काे अवसर खेर फाल्यो। कोलारोभको क्रसलाई एलेक्स सान्द्रोले गोललाईनबाट क्लियर गरिदिए। त्यसमै भिएआरको सहायता लिदा एलेक्स सान्द्रोको ह्यान्ड देदिएपछि रोमाले पेनाल् टीको मौका पाएको थियो। जसलाई ६८औं मिनेटमा डिएगो पेरोटीले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए।
७९औं मिनेटमा युभेन्ट्सका गोन्जलो हिगुआइनले गोल गरेपनि मान्यता पाएन। इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा रोमाले बराबरी गोल गर्ने सुन्दर मौका खेर फाल्यो। इन्ज्युरी समयको थप गरिएको पाँचौ मिनेटमा हिगुआइन पुन चुके। त्यसपछि थप गोल निस्कन नसक्दा युभेन्ट्स २–१ ले विजयी हुन सफल भयो।