एजेन्सी – अर्जेन्टिनी फरवार्ड सर्जियो अगुइरोको कीर्तिमानी ह्याट्रिक सहयोगमा म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा फराकिलो जित निकालेको छ।
आइतबार राति भएको खेलमा सिटीले एस्टन भिल्लालाई उसकै मैदानमा ६–१ को फराकिलो जित निकालेको हो। सिटीको फराकिलो जितमा सर्जियो अगुइरोले ह्याट्रिक तथा रियाद महरेजले दुई गोल गर्दा ग्राबियल जिससले एक गोल गरे। एस्टनका अनवर एल घाजीले एक गोल फर्काए।
गोलको वर्षा भएको खेलको १८औं मिनेटमा महारेजले गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाए। २४औं मिनेटमा महारेजले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीको अग्रता दोब्बर बनायो। २८औं मिनेटमा अगुइरोले गोल गर्दै सिटीलाई खेलमा ३–० ले अघ बढाए। त्यसपछि ४५ औं मिनेटमा जिससले गोल गर्दा पहिलो हाफमै सिटीले ४–० को आरामदायी अग्रता बनायो।
दोस्रो हाफमा सिटीले थप दुई गोल गर्दा एक गोल खान पुग्यो। ५७औं मिनेटमा अगुइरोले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई ५–० ले अघि बढाए। ८१औं मिनेटमा अगुइरोले ह्याट्रिक पुरा गर्दा सिटीलाई ६–० को अग्रता दिलाए।
यससँगै अगुइरो प्रिमियर लिगमा सर्वा्धिक गोल गर्ने इंग्ल्यान्ड बाहिरका खेलाडी बने । एस्टनविरुद्ध ह्याट्रिक गोल गरेसँगै अग्युरोले प्रिमियर लिगमा आफ्नो गोल संख्या १ सय ७७ बनाए । अगुइरोले फ्रान्सका थिएरी हेनरीको १ सय ७५ गोलको कीर्तिमान तोडेका हुन् ।
प्रिमियर लिगमा अगुइरोको करियरको १२औं ह्याट्रिक हो। यससँगै अगुइइरोले प्रिमियर लिगमा सर्वा्धिक ह्याट्रिक गर्ने खेलाडी एलन शेयररको कीर्तिमान समेत तोडेका छन्। यस अघि शेयररले ११ ह्याट्रिकको कीर्तिमान बनाएका थिए। त्यसपछि खेलको इन्जुरी समयमा एस्टनका घाजीले पेनाल्टीमा एक गोल फर्काएपनि सिटीले ६–१ को जित निकाल्यो।
जितसँगै सिटी लिगको दोस्रो स्थानमा उक्लिएको छ। सिटीले २२ खेलमा ४७ अंक जोडेको छ। तर, सिटी शीर्ष स्थानको लिभरपुल भन्दा अझै १४ अंकले पछि छ। लिभरपुलको ६१ अंक रहेको छ। एस्टन २१ अंकसहित १८औं स्थानमा छ।