एजेन्सी – ब्राजिली फरवार्ड नेयमार जुनियरले दुई गोल गरेपनि पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च लिग वानमा बराबरीमा रोकिएको छ। घरेलु मैदानमा पीएसजीले मोनाकोसँग ३–३ गोलको बराबरी खेलेको हो।
पार्क डि प्रिन्सेस स्टेडियमा नेयमारले दुई गोल गर्दा एक गोल उपहार पाएको थियो । मोनाकोका गिल्सन मार्टिन्स, विसाम विन यडर र इस्लाम स्लिमानीले गोल गरे। पहिलो हाफमा ५ गोल हुदा दोस्रो हाफमा एक गोल भएको थियो। खेलको तेस्रो मिनेटमा नै नेयमारको गोलबाट पीएसजी खेलमा अघि बढेको थियो। साँतौ मिनेटमा गिल्सनले बराबरी गोल फर्काए।
१३औं मिनेटमा विसाम विन यडरले गोल गरेपछि पीएसजी खेलमा २–१ ले पछि परेको थियो। २४औं मिनेटमा फोडे बालोले आत्मघाती गोल गरेपछि खेल २–२ गोलको बराबरीमा पुगेको थियो।
४२औं मिनेटमा नेयमारले पेनाल्टीमा गोल गर्दै पीएसजीलाई पहिलो हाफमा ३–२ ले अघि बढाए। ७०औं मिनेटमा इस्लाम स्लिमानीले गोल गर्दै खेललाई ३–३ गोलको बराबरीमा ल्याए। त्यसपछि खेलमा थप गोल हुन नसक्दा खेल बराबरीमा टुंगियो।
बराबरीपछि पीएसजी १९ खेलबाट ४६ अंक जोडेर शीर्ष स्थानमा यथावत छ। एक खेल बढी खेलेको मार्सेली ४१ अंक जोडेर दोस्रो स्थानमा छ। मोनाको २९ अंक जोडेर आठौं स्थानमा छ।