काठमाडौं – नेपाली महिलाहरुको प्रजनन् स्वास्थ्य सम्बन्धी समस्याहरु मध्ये पाठेघर झर्ने, जसलाई आङ खस्ने पनि भनिन्छ। यो एक जटील समस्या हो। अहिले पनि ग्रामिण भेगमा बसोबास गर्ने कतिपय महिलाहरुले यसलाई स्वास्थ्य समस्याको रुपमा लिने गरेको पाइदैन्।
हाम्रो समाजमा निकै न्यून मात्रामा छलफल गरिने, यस्ता कुरा परिवारका ठूला साना सदस्यसंग गर्दा लाज र इज्जत जाने कुराले गर्दा कतिपय महिलाहरु मानसिक, शारीरिक रुपमा श्रीमानबाट समेत पिडीत हुन बाध्य छन्। भनिन्छ, पाठेघर स्थिर नभई, केही मात्रामा चलायमान अङ्ग हो।
यसलाई यथास्थानमा राखिराख्न विभिन्न प्रकारका बाक्ला तन्तुहरूले टेवा दिइरहेका हुन्छन्। योनीको माथिल्लो भागका लिगामेन्टहरू कमजोर भएर धेरै महिलाको पाठेघर तल सर्छ, जसलाई ‘आङ खसेको’ भनिन्छ।
आङ खस्नुका कारणहरु
सुत्केरी व्यथा लागेका महिलालाई पाठेघरको मुख पूरा खुल्नु अगावै बल गर्न लगाएमा, पेट थिच्ने, पहिलो सुत्केरी हुँदाका घाउ राम्ररी नसिलाएमा पछि लिगामेन्टहरू कमजोर भएर आङ खस्ने समस्या आइलाग्छ। सुत्केरी भएपछि यथेष्ट आराम गर्न नपाएका वा कठोर शारीरिक परिश्रम गरेका, फराकिलो जन्मान्तर नभएका, लामो र कष्टपूर्ण सुत्केरी व्यथा लागेका महिलाहरूलाई यो समस्या बढी हुन्छ।
नेपालका ग्रामीण महिलाहरू घाँस–दाउरा, पानी–पँधेरामा धेरै उकालीओराली गर्नुपर्ने बाध्यतामा छन्। गाउँघरमा धेरैजसो महिला धुम्रपान गर्छन्। उनीहरूलाई धुवाँरहित चुल्हो उपलब्ध छैन। उनीहरूको पोषणस्थिति उस्तै दयनीय छ। तिनै महिला छोटो–छोटो अन्तरालमै बच्चा पाउन बाध्य हुन्छन्। यीमध्ये अधिकांश महिला आङ खस्ने समस्याको शिकार हुन्छन्।
यसको उपचार विधि
गर्भावस्थामा पोषण, सरसफाइ, व्यायाम, सुत्केरी व्यथा लाग्दा समय नभइकन पाठेघरको मुख पूरै नखुलेसम्म नकन्ने, व्यथालाई लामो हुन नदिने, आवश्यकता अनुसार इपीजीयोटोमी वा सिजेरियन शल्यक्रिया र प्रसूतिपछि पाठेघर वरिपरिको लिगामेन्ट तथा पेट एवं जननेन्द्रिय वरिपरिको मांसपेशी कसिलो बनाउने अभ्यासले आङ खस्ने समस्या रोक्छ।
आङ खस्ने अवस्था हेरी रिङ्ग पेसरी लगाउन पनि सकिन्छ। तर ठुलै समस्या छ भने, शल्यक्रियाको जरुरत पर्दछ। यसका अलावा यस्तो समस्या भएका तर बच्चा पुगिसकेका, महीनावारी सुकिसकेका महिलामा पनि पाठेघर निकाल्ने शल्यक्रिया गर्न सकिन्छ।
जन्मजात मांसपेशी कमजोर भएका, बच्चा नपाएका वा अविवाहित महिलाहरूमा आङ खस्ने समस्या रहेछ भने पाठेघर वा योनीको माथिल्लो भाग माथि सार्ने फित्तासहितको शल्यक्रिया गरिन्छ। यस्तो शल्यक्रियाले बिरामी उभिनेरउठ्ने क्रममा पेटको मासुमा बल पर्न गई पाठेघर माथितिर तानिन् छ। यो तरीकाले उमेर नपुगेका महिलाहरूलाई पाठेघर ननिकाली नै समस्याबाट छुट्कारा दिन्छ।
पाठेघर निकाल्ने शल्यक्रिया गर्दा लापरबाही भयो भने रक्तस्राव भइरहने, मूत्रनलीमा चोट पुग्ने र पिसाब रोकिने, संक्रमण हुने, यौन सम्पर्क गर्दा पीडा हुने वा फेरि आङ खस्ने जस्ता जटिलता उत्पन्न हुन सक्छ। त्यसैले घुम्ती शिविरमा भन्दा सुविधासम्पन्न अस्पतालमा दक्ष एवं तालीमप्राप्त स्त्री रोग विशेषज्ञबाट शल्यक्रिया गराउनु बुद्धिमानी हुन्छ।