घोराही – घोराही–१६ तेरौटेका ३० वर्षीय मणिराज पुन हिजोआज जिल्लामै सफल च्याउ कृषकका रुपमा चिनिएको छ। अरूले गर्दै आएको च्याउ खेतीभन्दा फरक तरिकाले उनले प्राविधिक रुपमा कठिन मानिएको गोब्रे अर्थात् डल्ले च्याउ उत्पादन गरिएको छ। उनका अनुसार माटो, मल र बीउको मात्रा नमिलाए गोब्रे च्याउ उम्रिँदैन। उम्रिए पनि फक्रिँदैन, कुहिन्छ र डढेर नष्ट पनि हुन्छ।
च्याउलाई तरिका पुर्याएर तथा जोगाएर उमार्न अप्ठेरो भए पनि अहिले उनले ग्राहकको मागलाई धान्नका लागि भए पनि मेहनेत गरेर गोब्रे च्याउ खेती गरिएको छ। उनले आफ्नो घर, गोठ, घरछेउमा छाप्राछाप्री बनाएर पनि गोब्रे च्याउको खेती गर्दै आएका छन्। बजारबाट डल्ले च्याउको माग अत्यधिक बढेपछि आफूले सोही च्याउको खेती शुरु गरेको उनी बताउछन्। सामाजिक सञ्जाल चलाउँदै गर्दा सञ्जालमा च्याउ खेतीसम्बन्धी केही भिडियो देखेपछि उनले त्यसलाई खोज्दै गए।
च्याउ खेती के कसरी हुँदैरैछ भनी आफैँ पत्ता लगाउने प्रयास गरे। च्याउ व्यवसाय गर्न सकिन्छ कि भनेर परिवारको सल्लाहअनुसार काठमाडाँै पुगेर च्याउखेतीको तालीम पनि लिए। उनी भन्छन, ‘च्याउसम्बन्धी तालीम लिन जाँदा जिल्लामा च्याउ खानुपर्छ भन्ने सोचसमेत यहाँका बासिन्दामा थिएन।’ उनले आफैँ तालीम लिए। एक्लै खेती शुरु गरे र बेच्न पनि आफैँ गए। त्यसताका २३÷२४ वर्षको ठिटो डोको बोकेर बजारमा च्याउ बेच्न जाँदा सबैले खिसी गरेको उनी सुनाउछन्।
‘यो उमेरको मान्छेले पनि डोका बोकेर च्याउ बेच्न आउने भन्दै सबैजसो हाँस्नेहरु भेटिए’, उनी भन्छन, ‘निरन्तर बेच्न गएपछि च्याउका छुट्टै उपभोक्ता बने।’ केही यस्ता व्यक्ति पनि भेटिए जसले उनको मन राख्न दैनिक एक पाउ भए पनि च्याउ किनिदिए। एक दिन नदेखे किन नआएको भन्दै प्रश्न गर्ने गर्न थाले। क्रमशः च्याउका उपभोक्ता बढे र युवा व्यवसायी पुनको खोजी हुनथाल्यो, च्याउको बजार पनि बढ्न थाल्यो। उनले अहिले दैनिक ४० देखि ६० केजीसम्म च्याउ बिक्री गरिरहेका छन्।
उनले उत्पादन गर्ने गोब्रे (डल्ले) च्याउको मूल्य प्रतिकेजी रु ५०० छ भने कन्ने च्याउ रु २०० मा बेचिरहेका छन्। उनले अहिले आफ्नो घर, गोठमा च्याउ उत्पादन गरिरहेका छन्। उनले एउटा ठूलो टहरासमेत निर्माण गरेको छ। अब दैनिक १०० केजी च्याउ बेच्ने उनको लक्ष्य छ। उनको च्याउ प्यूठान र रोल्पा पनि पुगिरहेको छ। उनी भन्छन, ‘जति उत्पादन गरे पनि बजारको माग धान्नै सकिँदैन।’ उनीसँगै अन्य चार युवा पनि च्याउ खेतीमा लागेका छन्।
उनीहरुले च्याउको व्यवस्थापन र बजार प्रतिनिधिका रुपमा काम गरिरहेका छन्। च्याउ खेतीका लागि सरकारीस्तरबाट आर्थिक सहयोग नभए पनि हौसला र प्राविधिक सहयोग भने पाइरहेको उनी बताउछन्। च्याउ कृषक पुनले अहिले गौमुखी च्याउ तथा कृषि उद्योग नाम दिएर कृषि फार्म दर्ता गरी व्यावसायिक रुपमै च्याउ व्यवसायमा होमिएका छन्। उनले अहिले अन्य च्याउभन्दा पनि गोब्रे च्याउलाई बढी प्राथमिकता दिने गरेका छन्।
प्राविधिक रुपमा निकै झन्झटिलो छ, माटो बनाउँदा केही सानो गल्ती भएमा गरिएको खेती सबै नष्ट भएर जाने हुन्छ तर उनले गोब्रेलाई नै बढी प्राथमिकता दिने गरेको छन्। उनी भन्छन, ‘गोब्रे च्याउ यति धेरै माग हुन्छ कि ग्राहकलाई छैन भनेर फर्काउनुपरेको छ।’ विशेषगरी होटलमा च्याउका झोल खानका लागि गोब्रे च्याउ बढी बिक्री हुन्छ। अहिले गोब्रे च्याउका पारखी असाध्यै बढेका छन्। घरमै खोज्न आउँछन, फोन गर्छन्। जिल्ला बाहिरबाट पनि अत्यधिक माग हुने गरेको छ।
पछिल्लो समय गोब्रे च्याउलाई उपभोक्ताले राम्रोसँग चिनेका छन्। जिल्लामा स्थापना भएको प्रदेशस्तरीय कृषि ज्ञान केन्द्रका प्रचारप्रसार अधिकृत भरत पोखरेल दाङको घोराहीमा च्याउको खेती निकै राम्रोसँग फस्टाएको बताउछन्। गोब्रे च्याउ खेती गर्ने भने निकै कम छन्। यस्तै कृषिमा नयाँ सोचको विकास गर्ने भन्दै सरकारले ल्याएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले एक हजार किलो च्याउको बीउ खपत गर्ने कृषकलाई प्रतिकृषक रु तीन लाख अनुदान दिने गरेको छ।
अहिले घोराहीमा मात्रै च्याउका पाँच मुख्य क्षेत्र सञ्चालनमा आएको छ। तीनक्षेत्रका कृषकलाई ज्ञान केन्द्रले आर्थिक र प्राविधिक सहयोग गर्दै आएको उनले बताएका छन्। दाङका कृषकले अहिले तरकारीका रुपमा च्याउको बिक्री गर्नाका साथै यसको सुकुटी बनाउने, अचार बनाउने, सुपका लागि धुलो बनाउने काम गरिरहेका छन्। (रासस)