काठमाडौ – मदिरा भन्ने बित्तिकै हामी रक्सी, जाँड, जस्ता अनगिन्ती नामलाइ बुझ्दछाैँ। यस्ता खालका मदिरा सेवनले स्वास्थ्यमा हानी पुर्याउछ। मदिरा पिउनुलाई हामी ‘परम्परा’, ‘संस्कृति’ भनेर भ्रमित बनाउने चेष्टा गर्छौं। वास्तवमा मदिरा आफैमा संस्कृति होइन, मदिरा पिउनु सभ्यता होइन, मदिरा न स्वास्थ्यका लागि आवश्यक छ, न समाजका लागि, यो एक विकार हो। यसले समाजलाई ध्वस्त बनाउने र मान्छेको मनोवृत्ति खराब बनाउने गर्दछ।
मदिराको प्रयोगले व्यक्ति र समाजलाई कति प्रभाव पार्छ भन्ने कुराको निर्धारण गर्छ। मदिराको अत्याधिक सेवनले संक्रमणीय रोगहरुका साथै सामाजिक सम्बन्धमा तिक्तता ल्याउने र आर्थिक रुपमा हानी र्पुयाउने गर्दछ। यसले शारीरिक र मानसिक रोगसम्मको शिकार बनाउँछ।
तथ्यांक
विश्व स्वास्थ्य संगठनले अनुसन्धान गरेको प्रतिवेदनअनुसार प्रत्येक १० सेकेन्डमा एक जना र प्रत्येक वर्ष ३३ लाख (३.३ मिलियन) मानिसले अत्यधिक मदिरा सेवनको कारण अकालमा ज्यान गुमाउने गर्छन्। यो विश्वको वार्षिक मृत्युको ५ दशमलब ९ प्रतिशत हो। विश्वमा लाग्ने रोगमध्ये ५ दशमलब १ प्रतिशत रोग मदिराको कारण लाग्ने गर्छ।
२० देखि ३९ वर्ष उमेर समुहका २५ प्रतिशत व्यक्तिको मृत्यु अत्यधिक मदिरा सेवनको कारण हुने गरेको अनुसन्धान बताउँछ। एक बर्षमा नियमित रक्सी सेवन गर्ने पुरुषले औसत २१.२ लिटर र महिलाले औषत ८.९ लिटर शुद्ध रक्सी प्रयोग गर्छन्। पुरुषहरुले औषत ३२ लिटर शुद्ध रक्सी प्रयोग गर्ने गरेको सन २०१० को विश्व स्वास्थ्य संगठनको वार्षिक अध्ययनले देखाएको छ।