काठमाडौं– राजुकाजी शाक्यको प्रशिक्षणमा रहेको न्यूरोड टिम (एनआरटी) ले कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगमा तेस्रो जित हासिल गरेको छ। दशरथ रंगशालामा सोमबार लिगको पूर्व विजेता नेपाल पुलिस क्लबलाई १–० ले स्तब्ध पार्दै एनआरटीले महत्वपूर्ण जित हासिल गरेको हो।
दर्शन गुरुङको गोल निर्णायक बन्दा एनआरटीले ३ अंक जोडेको हो। दर्शनले ७६ औं मिनेटमा गोल गरेका थिए। राजेश परियारको पासमा दर्शनले पेनाल्टी बक्सको मध्यभागबाट गोल गरेका थिए। ६ खेलमा एनआरटीको यो तेस्रो जित हो। २ खेलमा हार बेहोरेको एनआरटीले १ खेलमा बराबरी गरेको थियो।
टोलीको खातामा १० अंक पुगेपछि गत सिजन लिगको पुछारमा रहेका कारण टोलीको यो सिजनमा २ अंक घटाइएको छ। एनआरटीको ८ अंक छ भने पुलिसले यसअघि नै ८ अंक जोडेको थियो। पुलिसले भने छैटौं खेलमा आइपुग्दा दोस्रो हारको सामना गर्नुपरेको छ। यसअघि टोली रुस्लान थ्री स्टार क्लबसँग पराजित भएको थियो।