काठमाडौं – आगामी बुधबारदेखि खुलामञ्चमा सवारी साधन पार्किङ निषेध हुने भएको छ। काठमाडौं महानगरपालिकाले खुलामञ्चलाई सधैंका लागि खुला बनाउने योजनाअनुसार माघ एक गते देखि लागु हुने गरी सवारी साधन पार्किङ निषेध गरेको हो। गत कात्तिकदेखि ‘अकुपाई टुँडिखेल’ अभियानले खुलामञ्चलाई खाली गराउन जोड दिँदै आएको थियो।
महानगरको वडा नम्बर १८ का अध्यक्ष भाइराम खड्गीको अनुुसार खुलामञ्च खुला नै राख्नु पर्ने भएकाले माघ १ गतेदेखि गाडी पार्किङमा रोक लगाउन लागिएको हो। केही समययता अस्तव्यस्त रहेको खुलामञ्चमा सवारी साधन पार्किङ बन्द भएपछि सार्वजनिक कार्यक्रमहरु गर्न सकिने अध्यक्ष खड्गीले बताए।
कुनैबेला देशका चर्चित नेताहरुको भाषण गर्ने मुख्य ठाउँको रुपमा खुलामञ्चलाई लिइन्थ्यो। तर हाल बसपार्क, अनधिकृत पार्किङ र निर्माण सामाग्रीले गर्दा अस्तव्यस्त छ। पुरानो बसपार्कमा भ्यूटावर निर्माणको कामम शुरु भएपछि केही समयका लागि भन्दै महानगरले बसपार्कलाई अस्थायी रुपमा खुलामञ्चमा सारेको थियो।