जनकपुरधाम — आज दिउँसो १ बजे बस्ने भनेको प्रदेश २ को प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ। प्रदेश २ को बैठक लामो समयदेखि बस्न सकेको छैन। अब अर्काे सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ।
पुसको १४ र १५ गते आह्वान गरिएको प्रदेशसभाको बैठक प्रतिपक्षी तथा केही सत्तारुढ सांसद समेतले अवरुद्ध गरेका थिए। गत आर्थिक वर्षमा सन्चालित योजनाहरुको भुक्तानी दिनुपर्ने माग गर्दै दुई दिन संसद अवरुद्ध गरिएपछि १७ गतेका लागि आह्वान गरिएको बैठक बस्दै नबसी स्थगित गरिएको थियो।
त्यसपछि २४ गते बस्ने भनिएकोमा उक्त दिन पनि स्थगित गर्दै २८ गते सोमबारका लागि निर्धारण गरिएको थियो। तर सोमबार पनि बैठक हुन सकेन। प्रदेशसभाको बैठक अन्यौल भएसँगै प्रदेशको नामाकरण र स्थायी राजधानीको प्रस्ताव पनि अन्यौलमा परेको छ भने दर्ता गरिएका विधेयक उपरको छलफल समेत सुरु हुन सकेको छैन।