एजेन्सी– अष्ट्रेलियामा जारी बिग बास लिग (बीबीएल) अन्तर्गत आफ्नो नवौं म्याचका लागि ब्रिसबेन हिटले टोली घोषणा गरेको छ। ब्रिसबेनले आज क्रिस लिनको नेतृत्वमा १३ सदस्यीय टोली घोषणा गरेको हो।
ब्रिसबेनले आफ्नो नवौं म्याचमा राशिद खान सम्मिलित एडिलेट स्टाइकर्ससँग खेल्न लागेको हो। ब्रिसबेन र एडिलेटबीचको खेल मंगलबार दिउँसो १ः५५ बजेदेखि सुरु हुनेछ।
ब्रिसबेनले नवौं म्याचमा स्टार क्रिकेटर एबी डिभिलियर्स र मुजीउर रहमानलाई टिममा भित्र्याएको छ। उनीहरु ब्याट्सम्यान टम ब्यान्टन र बलर जाहीर खानको स्थानमा टिममा भित्रिएका हुन्। ब्रिसबेनले ब्यान्टन र जाहीरलाई नौं म्याचका लागि टिममा अनुबन्ध गरेको थियो।
ब्रिसबेनले नेपाली लेग स्पिनर सन्दीप लामिछानेआवद्ध मेलबर्न स्टार्ससँगको दोस्रो खेल २५ जनवरीमा खेल्ने छ। मेलबर्नसँग पहिलो खेलमा ब्रिसबेन २२ रनले पराजित भएको थियो।
आठ म्याच खेल्दा लिन नेतृत्वको ब्रिसबेनले ४ खेलमा जित हासिल गर्दा ४ खेलमै हारको सामना गरेको छ। अंक तालिकामा हिट ८ अंकका साथ पाँचौ स्थानमा छ। यता एडिलेटले पनि ८ खेलमा ४ म्याचमा जित हासिल गरेको छ। उसले ३ खेलमा हारको सामना गर्दा एक म्याचमा भने वर्षा कारण अंक बाँडेको थियो। ट्रभिस हेड कप्तान रहेको एडिलेट ९ अंकका साथ तालिकाको तेस्रो स्थानमा छ।
अंक तालिकाको शीर्ष स्थानमा भने ग्लेन म्याक्सवेल नेतृत्वको मेलबर्न स्टार्स छ। उसले ९ म्याच खेल्दा ८ मा जित हासिल गर्दै १६ अंक जोडेको छ। मेलबर्नले आफ्नो दशौं म्याच बुधबार खेल्दै छ। उसले दशौं म्याचमा पर्थ स्कोरचर्सको सामना गर्नेछ।