एजेन्सी– होन्डाले भारतीय बजारमा नयाँ एसयूभी ल्याउँने तयारी थालेकाे छ। भारतमा आफ्नो बजार हिस्सा करिब ५ प्रतिशत पुर्याउने लक्ष्य बनाएको होन्डाले भिटारा ब्रेजा, हुन्डाई भेन्यू जस्ता मोडललाई टक्कर दिन चार मिटरभन्दा छोटो साइजमा कम्प्याक्ट एसयूभी ल्याउन लागेको हो।
भविष्यमा होन्डाले धेरै प्रडक्ट एसयूभी सेग्मेन्टमा ल्याउन लागेको कम्पनीका सिइओ याचिरो यिनोले जनाएका हुन्। कम्पनीले ल्याउने उक्त एसयूभीमा १.२ लिटर पेट्रोल र १.५ लिटर डिजेल इन्जिन दिइने अनुमान गरिएको छ। साथै, उक्त इन्जिनमा म्यानुयल र अटोमेटिक दुबै गियरबक्स दिइने छ।
भारतमा आफ्नो ह्याचव्याक कार ज्याजलाई क्रसओभर गरेर उत्पादन गरिएको डब्ल्यूआरभीको सफलतापछि कम्पनीले अमेजको प्ल्याटफर्ममा नयाँ एसयूभी बनाउन लागेको अनुमान गरिएको छ। अमेज भारतमा होन्डाको सर्वाधिक बिक्री हुने मोडल हो। अमेजको क्रेजलाई कायम राख्दै एसयूभी सेग्मेन्टको बिक्रीमा फाइदा लिने तयारीमा होन्डा रहेको अनुमान गरिएको छ।