कालिकोट– कालिकोट जिल्लाको पचालझरना गाउँपालिका ४ निवासी दुर्गाप्रसाद न्ययौपानेले प्रहरी चौकीलाई ३ सय २५ वर्ग्मिटर जग्गा दान गरेका छन्। न्यौपानेले इलाका प्रहरी चौकी पचालझरनाको भवन निर्माणका लागि २ लाख ५० हजार मुल्य बराबरको जग्गा निशुल्क दान गरेका हुन।
जिल्ला प्रहरी कार्यालय डीएसपी श्यामबाबु ओलीयालाई जग्गाको लालपुर्जा हस्तान्त्रण गर्दै जग्गा धनी न्यौपानेले गाउँमा प्रहरी चौकी हुँदा सुरक्षाको प्रत्याभूति हुने भएकाले प्रहरी चौकीका लागि आफ्नो इच्छाले जग्गा दान गरेको बताए।
जिल्ला प्रहरी प्रमुख डीएसपी ओलीयाले नेपाल सरकार मन्त्रीपरिषद्को निर्णयअनुसार पचालझरनना गाउँपालिकामा इलाका प्रहरी चौकी स्थापना भएको छ। तर चौकीको आफ्नै नामको जग्गा नभएकाले भाडाको घरमा चौकी राखिएको छ। अब जग्गा पनि प्राप्त भएकाले भवन निर्माणको प्रक्रिया अगाडी बढाइनेछ।
उनका अनुसार अझै पनि जिल्लाको सान्नीत्रिवेणी गाउँपालिकाको मेहेलमुडी र तिलागुफा नगरपालिकाको ६ गाल्जेमा प्रहरी चौकीका लागि जग्गा पर्याप्त भएको छैन्। स्थानीय तहसँगको समन्वयमा ती प्रहरी चौकीका लागि जग्गा खोजी भइरहेको छ। अहिले ती चौकी भाडाको घरमा संचालन भइरहेका छन्। चौकीका लागि जग्गा प्राप्त भएपछि भवन पनि निर्माण हुने उनको भनाइ छ।