काठमाडौं– अधिकांश महिलाको शरीरका विभिन्न भागमा सेता धर्सा देखिन्छ। पेट, हिप, पिँडौला, स्तन आसपासको छालामा आउने यस्ता सेता धर्साका कारण युवतीहरू बढी चिन्तित बन्ने गरेको पाइन्छ।
शरीरका केही भाग खाली देखिने गरी साडी, ब्लाउजलगायत खुला कपडा लगाऊँदा सेता धर्साहरू दुनियााका नजरमा पुग्छन्। सेता धर्साकै कारण युवतीहरू सौन्दर्यमा आँच आएको महसुस गर्छन्। आखिर सेता धर्सा के हो, यसबाट कसरी बच्ने ? यसबारे चर्चा गर्याैं।
शरीरको तौल बढ्दा मासु तन्किएपछि र केही समयपछि तौल घट्दा मासु खुम्चिएको खण्डमा शरीरमा एक प्रकारको दाग देखा पर्न थाल्छ। सुन्दरतामा बाधा ल्याउन सक्ने यी दागहरूलाई स्ट्रेच मार्क्स भन्ने गरिन्छ। सेता धर्सा धेरैजसो नाइटोमुनी, तीघ्रा, पाखुरा, हिप, स्तनको वरिपरि देखिने गर्छ।
स्ट्रेच मार्क्स पुरुषमा भन्दा पनि धेरैजसो महिलाहरूमा देखा पर्ने गर्दछ। मोटो शरीर एक्कासी दुब्लाउदा, गर्भावस्थापछि वा शरीरको कुनै पनि भागको मासु खुम्चेमा स्ट्रेच मार्क्स बस्ने गर्छ।
गर्भावस्थामा बच्चा पेटमा बढ्दैजाँदा छाला तन्किने र बच्चा जन्मिएपछि एक्कासी छाला खुम्चिने हुँदा छालामा धर्सा बनेर स्ट्रेच मार्क्स बस्छ। गर्भअवस्थामा देखिने स्ट्रेच मार्क्सलाई सामान्य मानिन्छ। तर, बच्चा नजन्माएका अविवाहित युवायुवतीहरूमा समेत स्ट्रेच मार्क्स देखा परेकोले यो चिन्ता को विषय बनेको छ।
छोटो समयमा अत्याधिक मोटाएर छोटो समयमै दुब्लाउँदा छालामा भएको फाइबरहरु ब्रेक हुदा स्ट्रेच मार्क्स बन्ने गर्दछ। कहिलेकाँही थाइराइडको कारण, अत्यधिक तन्किने वाला एक्सर्साइज, जुम्बा डान्स गर्दा पनि हुन सक्छ। स्ट्रेच मार्क्सका कारण सुन्दरतामा र आत्म विश्वासमा कमी आउन थाल्छ।
धेरै जसो मानिसहरूले यसबाट छुटकारा पाउनका लागि विभिन्न महँगो क्रिमहरुको प्रयोग तथा अन्य उपचार विधिहरू अपनाइरहेको छन्। तर अझ बढी समस्या भएको देखिन्छ। शरीरमा कुनै पनि समस्याले दुःख दिन्छ भने, आफ्नो डाइटमा ध्यान राख्नुपर्छ।
स्ट्रेच मार्क्स हटाउनका लागि दैनिक खानामा भिटामिन ’ए’, ’सी’, ’इ’ र ’के’ युक्त खानेकुरालाई समावेश गर्नुपर्छ। यस्ता भिटामिनहरूले शरीरको मृत छालाको कोषलाई हटाएर कलेजन उत्पादन गरेर छालालाई नयाँ, नरम र चम्किलो बनाउन मद्दत गर्छ।
सौन्दर्यको भिटामिन मानिने भिटामिन ’ई’ युक्त बडी लोशन तथा क्याप्सूललाई स्ट्रेच मार्क्स भएको ठाउँमा राति सुत्ने समय लगाएमा केही दिनमै राम्रो नतिजा आउनेछ।