काठमाडौं – आइतबारबाट प्रदर्शनमा आएको साउथ सुपरस्टार अल्लू अर्जुन र पूजा हेगडेको सिनेमा ‘अला वैकुण्ठप्रेमुलो’ ले बक्सअफिसमा धमकेदार ओपनिङ गरेको छ। सिनेमाले दर्शकबाट निकै राम्रो प्रतिक्रिया बटुली रहेकोछ। साथै, बलिउड मिडियाका अनुसार सिनेमाले ‘बाहुबली’ को रेकर्ड समेत तोडेको छ। सिनेमा सबैभन्दा ठूलो इन्डियन ओपनर बनेको भारतीय मिडियाले बताएका छन्।
सिनेमाले घरेलू बजारसँगै अमेरिकालगायतका देशमा पनि धमकेदार कमाई गरेको छ। पारिवारिक सिनेमाले संयुक्त राज्य अमेरिकामा ‘बाहुबली’ को रेकर्ड तोडेर नयाँ रेकर्ड बनाएको छ। ट्रेड एनालिस्ट रमेश बालाका अनुसार, सिनेमाको प्रिमियरमा ६० हजारभन्दा बढि टिकट विक्री भएको छ । त्रिविक्रम श्रीनिवास निर्दे्शित सिनेमामा अल्लू र पूजाका अलवा तब्बू, सुशान्त, नवदीप, निवेथा पेथुराज, राजेन्द्र प्रसाद, वेनेला किशोर, सत्यराजलगायतका कलाकारहरुको अभिनय छ।
बलिउड लाइफ डटकममा हालै कुराकानी गर्दै अभिनेता अल्लू अर्जुनले बलिउडमा काम गर्ने विषयमा बोलेका छन्, ‘मलाई हिन्दी सिनेमामा काम गर्न मन छ। मलाई बलिउड सिनेमा निकै मन पर्छ। मलाई लाग्छ कि कोही पनि दक्षिण भारतीय अभिनेतालाई बलिउडमा काम गर्ने इच्छा छ। किनकि, बलिउड निकै ठूलो उद्योग हो। यहाँ जो पनि आफ्नो करिअर बनाउन सक्छ।’
‘अला वैकुण्ठप्रेमुलो’ मा पूजा हेगडेले सफ्टवेयर कम्पनीको सिइओको भूमिका निभाएकी छन्। त्यस्तै, बलिउड अभिनेत्री तब्बू सिनेमाबाट वर्षौपछि तेलुगुमा कमव्याक गरेकी छन्। उनले सिनेमामा अल्लू अर्जुनकी आमाको भूमिका निभाएकी छन्। १० वर्षपछि उनले तेलुगू सिनेमामा काम गरेकी हुन्। सिनेमाले पहिलो दिन घरेलू बक्सअफिसमा ५५ करोड माथीको व्यापार गरेको सिनेमा पण्डितको भनाई छ।