काठमाडौं — पुरानो संसद भवन भत्काएर नयाँ भवन बनाउन संसदको विकास तथा प्रविधि समितिले निर्देशन दिएको छ। मंगलबार शहरी विकास मन्त्रालय, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलगायतका प्रतिनिधिसँगको छलफलपछि पुरानो संसद भवन भत्काएर नयाँ अत्याधुनिक भवन बनाउन निर्देशन दिएको हो।
विनाशकारी महाभुकम्पले क्षतिग्रस्त भएको सो भवन भत्काउने कि नभत्काउने भनी प्राधिकरण, मन्त्रालय र पूरातत्व विभागबीच विवाद पर्दा निर्माण कार्यमा रोक आएको हो।
पुनर्निर्माण प्राधिकरण र शहरी विकास मन्त्रालय भवन भत्काएर नयाँ बनाउनुपर्ने पक्षमा देखिए पनि पूरातत्व विभागले भने नभत्काई अहिलेकै स्वरुपमा प्रबलीकरण गर्नुपर्ने बताएका थिए।
समिति सभापति कल्याणी खड्काका अनुसार यो भवन यत्तिकै बचाएर उपायोग गर्ने सम्भावना कम भएसँगै मौलिकतालाइ ध्यानमा राखेर नयाँ अत्याधुनिक भवन बनाउन निर्देशन दिएको बताइन्।