पाल्पा– पाल्पाका सामुदायिक विद्यालयमा शिक्षकको अभाव भएको छ। जिल्लाका आधारभूत विद्यालयमा २ सय ६८ शिक्षक, माध्यमिक विद्यालय (कक्षा ९–१०) मा २ सय ४९ र (कक्षा ११–१२) मा ६१ शिक्षकको अभाव छ।
जिल्लामा ४ सय ४० प्राथमिक शिक्षक बढी रहेको शिक्षा विकास समन्वय इकाइ पाल्पाको दाबी छ। प्रावि तहका शिक्षक जिल्ला बाहिर पठाउने गरी इकाइले गृहकार्य थालेको छ। शिक्षक अभाव रहेका विद्यालयप्रति सरकारको चासो पुग्न नसक्दा विद्यालय र शिक्षक मर्कामा परेका छन्।
जिल्लाका माध्यमिक तथा आधारभूत तहमा शिक्षक दरबन्दीबिना सञ्चालन हुँदा पठनपाठन प्रभावकारी हुन सकेको छैन। आधारभूत तह र माविका कक्षा सञ्चालन गर्न अनुमति दिएपछि शिक्षक दरबन्दीको व्यवस्थापन हुनसकेको छैन। विसं २०६६ देखि विद्यालयमा शिक्षक दरबन्दीको व्यवस्था हुनसकेको छैन।
शिक्षा विकास समन्वय इकाइ पाल्पाका शाखा अधिकृत विष्णु बेल्बासेका अनुसार शिक्षक दरबन्दीको व्यवस्थापन नहुँदा माथिल्ला कक्षामा पढाउने शिक्षकको अभाव भएको छ। शिक्षक अभावमा पठनपाठन हुँदा विद्यालयको शौक्षिक गुणस्तर कमी देखिएको हो।
इकाइका शाखा अधिकृत विष्णु बेल्बासेले पाल्पा जिल्लामा १२ माध्यमिक तथा ३६ आधारभूत तहका विद्यालय शून्य दरबन्दीमा सञ्चालन हुँदै आएको बताए। मावि तथा आधारभूत तहका विद्यालयमा शून्य दरबन्दी कक्षा सञ्चालन हुँदा विषयगत शिक्षकको अभावमा छ।
करार तथा निजी शिक्षका भरमा सञ्चालित छन्। जिल्लाका ४८ सामुदायिक विद्यालयको अवस्था निजी तथा करारका शिक्षकका भरमा विद्यालय सञ्चालन गर्नुपर्ने बाध्यता छ। सरकारले आधारभूत र मावि तहमा थप शिक्षकको व्यवस्थापन नगर्दा समस्या भएका छन्।
सरकारी दरबन्दी अभावसँगै विद्यालयलाई निजी तथा करारका शिक्षक पाल्नुपर्ने बाध्यता रहेका छन्। स्थानीय तहले अनुदानमा केही शिक्षक पालिए पनि अधिकांश शिक्षक विद्यार्थीबाट नै शुल्क उठान बाध्य छन्। सरकारले आधारभूत तहको शिक्षा अनिवार्य भनिए पनि विद्यालयले शुल्क लिने गरेको पाइन्छ।
तनाउ गाउँपालिकामा तीन मावि, रैनादेवीछहरा गाउँपालिकामा तीन माविमा शून्य दरबन्दी छ। निस्दी, बगनासकाली र तानसेन नगरपालिकामा समेत शिक्षकको दरबन्दीबिना नै कक्षा सञ्चालनमा छन्। शिक्षक अभावमा विषयगत शिक्षक बिना नै पढाइ हुँदा शिक्षा क्षेत्रमा गुणस्तरीयतामा कमी देखिएको छ।
पाल्पा जिल्लामा दुई नगरपालिका र आठ गाउँपालिका छन्। रामपुर नगरपालिका दुई, तानसेन नगरपालिका दुई आधारभूत तहका विद्यालयमा शून्य दरबन्दीमा पठनपाठन हुँदै आएको छ। त्यसैगरी बगनासकाली गाउँपालिकामा एक, पूर्वखोला गाउँपालिका पाँच, निस्दी गाउँपालिका बाह्र, रम्भा गाउँपालिका एक, रैनादेवीछहरा गाउँपालिका सात, रिब्दीकोट गाउँपालिका दुई, तिनाउ गाउँपालिका दुई विद्यालयका अवस्था पनि उस्तै छ।
सामुदायिकतर्फ १ सय १७ मावि सञ्चालनमा छन्। सामुदायिक विद्यालयको गुणस्तर कमजोर हुँदै गएपछि विद्यार्थीको आकर्षण हुन सकेको छैन। यहाँका कक्षा १ देखि ५ मा २० जना विद्यार्थी भेटाउन मुस्किल हुँदै आएको पाइन्छ। सरकारले वर्षेनी शिक्षा क्षेत्रमा लगानी गरेपनि विद्यार्थी आकर्षणको केन्द्रविन्दु सामुदायिक विद्यालय बन्न नसक्दा शिक्षाप्रेमी चिन्तित छन्। (रासस)